मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नेतृत्वमा आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ । छलफलमा निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको रोकका विषयमा गम्भीर रूपमा कुरा उठाइएको थियो ।
महासंघको केन्द्रीय सर्कुलरअनुसार सातै प्रदेशका मुख्यमन्त्रीसमक्ष मिडियाका समस्या राख्ने क्रममा बागमती प्रदेशमा पनि निजी मिडियालाई विज्ञापन उपलब्ध गराउने विषय उठाइएको हो । सो क्रममा मुख्यमन्त्री बानियाँले निजी मिडियालाई पनि सरकारी विज्ञापन दिनका लागि आफूले प्रमुख सचिवलाई निर्देशन दिइसकेको जानकारी दिए ।
उनले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु लोकतन्त्रको मर्मविपरीत हुने उल्लेख गर्दै कानूनी रूपमा दर्ता भएका सबै मिडियाले सूचना पाउनुपर्ने धारणा राखे । “सरकारी विज्ञापन निजी क्षेत्रका मिडियालाई पनि दिन पाउनुपर्छ, यसलाई रोक्न मिल्दैन,” उनले भने ।
छलफलका क्रममा मुख्यमन्त्री बानियाँले प्रधानमनत्री बालेन्द्र शाहसँगको भेटमा पनि यस विषयमा कुराकानी भएको जानकारी दिए । प्रधानमन्त्री कार्यालयबाट निजी मिडियालाई विज्ञापन नदिने आशयको पत्र आएपछि हाल प्रदेशमा रहेका निजी सञ्चार माध्यमले सरकारी विज्ञापन पाउन सकेका छैनन् ।
तर, प्रधानमन्त्रीसँगको छलफलमा टेण्डरसम्बन्धी सूचना मात्र निजी मिडियामा नदिने र अन्य सूचना दिन मिल्ने भनिएको उनले स्पष्ट पारे । सोही आधारमा प्रदेश सरकारले टेण्डर बाहेकका सबै प्रकारका सूचना निजी मिडियामार्फत प्रवाह गर्ने वातावरण बनाउन प्रमुख सचिवलाई निर्देशन दिएको मुख्यमन्त्रीको भनाइ छ ।
कार्यक्रममा महासंघका उपाध्यक्ष हरि हुमागाईले संघीय सरकारकै शैलीमा प्रदेश सरकारबाट पनि साना–ठूला सबै निजी मिडियालाई सूचना दिने काम रोकिएकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल सुधारको माग गरे ।
त्यस्तै, महासंघका संस्थापक अध्यक्ष प्रताप विष्टले निजी र सरकारी मिडियाबीच समान व्यवहार गर्न प्रदेश सरकारसँग आग्रह गरेका थिए ।
छलफलमा सहभागीहरूले सरकारी विज्ञापन वितरण प्रणालीलाई समावेशी, पारदर्शी र समानुपातिक बनाउनुपर्नेमा जोड दिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com