info@nawayug.com

कानुन र संविधानको सीमाभित्र रहेर निर्वाचन गरौँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । उनले मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग आयोजना गरेको छलफलमा आफ्नो धारणा राख्दै प्रचण्डले विगतका निर्वाचनमा देखिएका कमजोरी आगामी निर्वाचनमा दोहोरिन नदिनुपर्ने बताएका हुन् ।

उनले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनका विषयमा विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको स्मरण गराए । कतिपय उम्मेदवारले आफ्नो मत हराएको, अपेक्षाभन्दा फरक परिणाम आएको तथा मतपेटिका ओसारपसारका क्रममा उम्मेदवारका प्रतिनिधिलाई सहभागी नगराइएको जस्ता गुनासा आउने गरेको उनको भनाइ थियो ।

आगामी निर्वाचनमा यस्ता प्रश्न उठ्ने अवस्था आउन नदिन निर्वाचन प्रक्रिया थप पारदर्शी र विश्वसनीय बनाउनुपर्ने उनले बताए ।

प्रचण्डले अघिल्लो निर्वाचन सामान्य परिस्थितिमा सम्पन्न नभएको उल्लेख गर्दै लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनका लागि राजनीतिक दल तथा नेताहरूले खेलेको भूमिकाको पनि मूल्याङ्कन हुनुपर्ने धारणा राखे । निर्वाचनमा प्राप्त मत र जित–हारसँगै लोकतन्त्रको संस्थागत विकासमा दलहरूले निर्वाह गरेको भूमिकालाई पनि महत्त्व दिनुपर्ने उनको भनाइ थियो ।

निर्वाचनको समयतालिकाबारे धारणा राख्दै उनले संविधान र कानुनको व्यवस्थाअनुसार निर्वाचन गर्नु उपयुक्त हुने बताए । निर्वाचन आयोगले प्रस्ताव गरेको स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मङ्सिरमा गर्ने समयतालिका उपयुक्त देखिएको उनको भनाइ थियो । यद्यपि, यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने उनले बताए ।

त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई प्रचण्डले प्राथमिकताका साथ उठाए । शान्ति सम्झौतापछि पहिलो संविधानसभाको निर्वाचनकै समयदेखि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने पक्षमा आफूले आवाज उठाउँदै आएको उनले बताए ।

विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न प्राविधिक र कानुनी दुवै पक्षमा गम्भीर अध्ययन आवश्यक रहेको उनको भनाइ थियो । यसका लागि विदेशमा ठूलो सङ्ख्यामा नेपाली नागरिक रहेका मुलुकका सरकारसँग नेपालले द्विपक्षीय वार्ता तथा संवाद गर्नुपर्ने र निर्वाचन आयोगले पनि आवश्यक सहजीकरण गर्नुपर्ने उनले बताए ।

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सके निर्वाचनको विश्वसनीयता र नागरिकको वास्तविक मताधिकार थप सुदृढ हुने प्रचण्डको धारणा थियो ।

निर्वाचन दुई चरणमा गर्ने विषयमा भइरहेको छलफलका सम्बन्धमा भने उनले आयोगको प्रस्तुति र सुझाव अध्ययन गरी पार्टीभित्र छलफल गरेपछि थप निर्णय लिने बताएका छन् ।

प्रतिक्रिया