info@nawayug.com

माथिल्लो तामाकोशीको वित्तीय उपलब्धि : तीन महिनामा १ अर्ब ६५ करोड नाफा

काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा विद्युत् बिक्रीबाट ३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बिक्री आम्दानी ३ अर्ब ८५ करोड रुपैयाँ थियो।

बिक्री आम्दानी बढे पनि कम्पनीको खुद नाफा भने गत वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्ष नाफा २ करोड रुपैयाँले घटेको हो।

कम्पनीको वित्तीय खर्च बढ्नु नाफा घट्नुको एक कारण देखिएको छ। गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ रहेको वित्तीय खर्च यस वर्ष बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

कम्पनीले आफ्नो वित्तीय विवरणमा आयोजना पूर्ण सञ्चालनमा रहेको जनाएको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा रहेको छ।

हाल कम्पनीको सेयर बजार मूल्य प्रतिकित्ता १९३ रुपैयाँ रहेको छ। हालसम्म कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन।

प्रतिक्रिया