काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले सहुलियतपूर्ण ऋण र अनुदानसहित दुई अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग माग्ने तयारी गरेको छ। परराष्ट्र स्रोतका अनुसार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि उक्त सहयोग माग्ने तयारी भएको हो।
कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछिको पहिलो औपचारिक विदेश भ्रमणका रूपमा शाह भारत जाने तयारीमा छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंसिरको पहिलो साताभित्र भ्रमण गर्ने गरी गृहकार्य भइरहेको छ। यद्यपि, भ्रमणको मिति र विस्तृत कार्यतालिका दुवै देशका परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा घोषणा गरिसकेका छैनन्।
सरकारले भ्रमणमा नयाँ सहमतिसँगै विगतका सम्झौता तथा आयोजनाको कार्यान्वयनलाई प्राथमिकता दिने तयारी गरेको छ। लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, महेन्द्रनगरमा सुक्खा बन्दरगाह निर्माण तथा थाँती रहेका द्विपक्षीय आयोजनालाई गति दिने विषय मुख्य एजेन्डामा छन्।
नेपालका नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालन सहज बनाउन नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय पनि भ्रमणमा उठाउने तयारी छ। यस विषयमा भारतको सहमति जुटाउनु नेपालका लागि महत्त्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ।
भ्रमणको उपलब्धि भने सहयोगको प्रतिबद्धता र सम्झौतामा मात्र सीमित हुन्छ वा कार्यान्वयनसम्म पुग्छ भन्नेमा निर्भर रहनेछ। आयोजनाहरू सम्पन्न गर्ने स्पष्ट समयसीमा, वित्तीय स्रोत र दुवै पक्षको जिम्मेवारी सुनिश्चित गर्न सके भ्रमण परिणाममुखी बन्न सक्नेछ।
यसैबीच, भ्रमणका क्रममा जनकपुरधाम र भारतको अयोध्याधाम जोड्ने प्रत्यक्ष रेल सेवा दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी रहेको बताइएको छ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेश’ सहभागी हुने स्रोतले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com