info@nawayug.com

युवाको सीप, क्षमता र उद्यमशीलता विकासलाई प्राथमिकता : मुख्यमन्त्री कार्की

खाँदबारी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले युवालाई स्वदेशमै उद्यमशील बनाउन र रोजगारीका अवसर सिर्जना गर्न प्रदेश सरकारले विशेष प्राथमिकताका साथ कार्यक्रम अघि बढाएको बताएका छन्। उनले उत्पादन वृद्धि, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्रदेश सरकारको प्रमुख लक्ष्यका रूपमा अघि सारिएको बताए।

शनिबार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस चौतारी नेपाल सङ्खुवासभाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको बजेटमार्फत ‘उदय परियोजना’ अन्तर्गत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरिएको जानकारी दिए। प्रदेशमै बसेर साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम ल्याइएको उनले बताए।

मुख्यमन्त्री कार्कीले युवालाई विदेश जानुपर्ने बाध्यता कम गर्दै आफ्नै प्रदेशमा उद्यम र रोजगारीका अवसर सिर्जना गर्ने वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए। उद्यमशीलताको विकासले उत्पादन वृद्धि हुनुका साथै प्रदेशको अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने उनको विश्वास छ।

प्रदेश सरकारसँग विकास बजेट र स्रोतसाधन सीमित भएकाले अपेक्षाअनुसार विकास निर्माणका सबै काम गर्न नसकिएको उनले स्वीकार गरे। यद्यपि, विगतका वर्षहरूमा सडक सञ्जाल विस्तार, पूर्वाधार निर्माण र विकासका आधार तयार गर्ने कामलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

मुख्यमन्त्री कार्कीले विकास निर्माणसँगै नीतिगत सुधार र सुशासन कायम गर्ने दिशामा पनि प्रदेश सरकारले काम गरिरहेको बताए। आगामी दिनमा विकास, समृद्धि र सुशासनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे।

पत्रकार भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। सङ्घीय सरकारबाट हुने कुनै पनि प्रेसविरोधी गतिविधिको समर्थन नगर्ने बताउँदै उनले प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारहरूसँगै उभिने प्रतिबद्धता व्यक्त गरे।

उनले वर्तमान सरकार पाँच वर्षसम्म टिकेर काम गर्न सकोस् भन्ने आफ्नो चाहना रहेको बताए। सरकार विधि, प्रक्रिया र कानुनअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे।

संविधान र लोकतन्त्रविरुद्धका गतिविधिप्रति सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो। लोकतान्त्रिक व्यवस्था बलियो बनाउन राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सबैको भूमिका महत्त्वपूर्ण हुने उनले बताए।

यसैबीच, मुख्यमन्त्री कार्कीले शनिबार खाँदबारीस्थित वरुण क्याम्पसको अनुगमन तथा निरीक्षणसमेत गरे। क्याम्पसले आयोजना गरेको स्वागत कार्यक्रममा उनले प्रदेशभित्रका सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधारमा सरकार प्रतिबद्ध रहेको बताए।

मुख्यमन्त्री कार्कीले वरुण क्याम्पसको व्यवस्थापन सुधार तथा भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रतिक्रिया