काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लागेको थियो । बाँकी पहाडी र तराईका भूभागमा भने मौसम सफा रहेको थियो ।
आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै बाँकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ । कोशी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com