जोर्डन । जोर्डनको एक अदालतले चर्चमा भएको घातक गोली काण्डमा संलग्न तीन जनालाई झुन्ड्याएर मृत्युदण्ड दिने फैसला सुनाएको छ । गत अक्टोबर २३ मा देशको दक्षिणी क्षेत्र कराकस्थित सेन्ट जर्ज ग्रिक अर्थोडक्स चर्चमा अन्त्येष्टि कार्यक्रममा बन्दुकधारीले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए।
जोर्डनको सैनिक निकायले आइतबार दिएको जानकारीअनुसार, राष्ट्रिय सुरक्षा अदालतले दुई दाजुभाइ र उनीहरूका एक नातेदारलाई ज्यान जाने ‘आतङ्कवादी आक्रमण’ गरेको, गैरकानुनी हतियार प्रयोग गरेको, ‘आतङ्कवादी’ गतिविधिको षड्यन्त्र र ‘आतङ्कवादी’ सङ्गठनको विचारधारा फैलाएको अभियोगमा दोषी ठहर गरेको हो। तीमध्ये एक जनालाई ‘आतङ्कवादी’ गतिविधिका लागि आर्थिक सहयोग जुटाएको अभियोगमा समेत दोषी ठहर गरिएको छ।
आक्रमणपछि फरार भएका तीनै जनालाई तीन दिनपछि पक्राउ गरिएको थियो । उनीहरूलाई पक्राउ गर्ने क्रममा सुरक्षा बलसँग मुठभेडसमेत भएको थियो । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले घटनाका दोषीलाई सबैभन्दा कडा सजाय दिइने बताएका थिए। कराक क्षेत्रमा जोर्डनको इसाई अल्पसङ्ख्यक समुदायको उल्लेख्य बसोबास छ।
करिब १ करोड १५ लाख जनसङ्ख्या रहेको जोर्डनमा इसाई समुदायको सङ्ख्या झन्डै तीन लाख रहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com