info@nawayug.com

वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं।  निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभाको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव अघि बढाएको छ।

शुक्रबार निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलका क्रममा आयोगले यस्तो निर्वाचन तालिकाको प्रस्ताव गरेको हो।

छलफलमा सहभागी एक नेताका अनुसार आयोगले स्थानीय तहको निर्वाचन बैशाख र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव गरेको हो। आयोगको सो प्रस्तावप्रति नेकपा संयोजक प्रचण्डले सकारात्मक भएको टिप्पणी गरेका थिए।

आयोगमा भएको उक्त महत्त्वपूर्ण छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूको सहभागिता रहेको थियो।

त्यस्तै, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुगे पनि उनले पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आफू बाहिरिएका थिए।

यसअघि २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने २०७९ मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो। कानुनअनुसार गाउँसभा र नगरसभाका जनप्रतिनिधिहरूको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ।

सोही आधारमा हालका जनप्रतिनिधिहरूको कार्यकाल आगामी २०८४ साल वैशाख ३० गते सकिँदैछ। हाल स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल सकिन करिब पाँच महिना मात्र बाँकी रहेको पृष्ठभूमिमा निर्वाचन आयोगले दलहरूसँग परामर्श तीव्र पारेको हो।

प्रतिक्रिया