info@nawayug.com

रोशी खोलाको भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार

मकवानपुर । सोमबार राति रोशी खोलाको भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार गरिएको छ। बिपी राजमार्ग भएर यात्रा गर्दा रोशी खोलामा बाढी आएपछि ती यात्रु फसेका थिए।

रोशी गाउँपालिका–७ घुमाउने चारसय बेसीस्थित रोशी खोलामा यात्रुहरू अड्कन पुगेको प्रहरीले जनाएको छ। पूर्वतर्फबाट आउँदै गरेका ५ वटा माइक्रोबसका ती ८९ जना यात्रुलाई सोमबार राति प्रहरीले उद्धार गरेको थियो।

खोलामा फसेकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीद्वारा सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ। र्‍याफ्टिङ र डोरीको सहायताले उनीहरूको उद्धार गरिएको थियो।

२०८१ असोज १० देखि १२ गतेसम्मको भीषण वर्षापछि रोशी खोलामा आएको भेलबाढीले बिपी राजमार्ग क्षतविक्षत बनाएको थियो। बाढीको १३ दिनपछि नै अस्थायी डाइभर्सन बनाएर राजमार्ग सञ्चालन गरिए पनि रोशीमा बाढी आउनेबित्तिकै राजमार्ग अवरूद्ध हुने गरेको छ।

हाल उक्त राजमार्ग स्थायी रूपमा बनाउने गरी ठेक्का आह्वान भइ काम भइरहेको छ।




प्रतिक्रिया