info@nawayug.com

सुनको अण्डा दिने कुखुरी कि भ्रष्टाचारको अखडा ? माथिल्लो तामाकोसीको ओरालो यात्रा र रञ्जितकारको 'सीईओ' दौड

काठमाडौं । कुनै समय 'नेपालको मोडेल' र 'राष्ट्रिय गौरवको मेरुदण्ड' मानिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना आज एउटा यस्तो बिन्दुमा आइपुगेको छ, जहाँ यसलाई 'सुनको अण्डा दिने कुखुरी' भन्दा पनि 'भ्रष्टाचार र बेथितिको अखडा' भन्न थालिएको छ। ३४ अर्बमा सम्पन्न हुने भनिएको आयोजनाको लागत ९० अर्ब नाघिसक्दा पनि यसको वित्तीय स्वास्थ्य सुध्रिनुको साटो झन् -झन् बिग्रिएर थला पर्दै गएको छ।

अहिले आयोजनाभित्रका बेथिति र आगामी नेतृत्वका लागि भइरहेको शक्ति संघर्षले हजारौं सेयरधनीहरूको मनमा एउटै प्रश्न उब्जाएको छ— के तामाकोसी फेरि उठ्ला त?

लागतको छलाङ र सेयरधनीको आँशु

आयोजना सुरु हुँदा नेपालकै सस्तो र नाफामूलक आयोजनाको रूपमा व्याख्या गरिएको थियो। तर, ढिलासुस्ती र कुप्रबन्धनको मारमा पर्दा यसको लागत झण्डै तेब्बर पुगेको छ। वर्षेनी अर्बौंको घाटा सुन्न बाध्य सेयरधनीहरूका लागि यो आयोजना अहिले 'कागलाई बेल पाक्यो, हर्ष न विस्मात' जस्तै भएको छ। विद्युत उत्पादन त भइरहेको छ, तर आम्दानीको ठूलो हिस्सा ब्याज र व्यवस्थापकीय कमजोरीको खाडल पुर्नमै खर्च भइरहेको छ।

चर्चामा पूर्ण गोपाल रञ्जित: निमित्तदेखि सीईओको आकांक्षीसम्म

आयोजना अहिले नेतृत्वविहीन जस्तै छ। तत्कालीन कार्यकारी अधिकृत मोहन गौतमले राजीनामा दिएपछि हाल पूर्ण गोपाल रञ्जित निमित्त कार्यकारी अधिकृतको जिम्मेवारीमा छन्। लामाबगरस्थित विद्युतगृहमा 'प्लान्ट मेनेजर' हुँदै निमित्त प्रमुख बनेका रञ्जित अहिले स्थायी रूपमै प्रमुख कार्यकारी अधिकृत (CEO) बन्ने दौडमा छन्। तर, उनीमाथि लागेका आरोपका चाङहरूले भने आयोजनाको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ।

आरोपका श्रृङ्खला: क्रेन चोरीदेखि ब्रुमर काण्डसम्म

आयोजना स्रोत र स्थानीय बासिन्दाका अनुसार रञ्जितको कार्यकाल र भूमिकामाथि थुप्रै गम्भीर प्रश्नहरू उठेका छन्।

करोडौंको क्रेन चोरी प्रकरणस् लामाबगरका स्थानीयहरूका अनुसार आयोजनाको कबाडी सामान बिक्री गर्ने बहानामा लोअर पेनस्टक क्षेत्रमा रहेको करोडौं मूल्यको क्रेन चोरी भएको थियो। यसमा तत्कालीन प्लान्ट मेनेजरको हैसियतमा रञ्जितको मिलेमतो रहेको आरोप स्थानीयले लगाउँदै आएका छन्।

बाढीपछिको लुटतन्त्र: बाढी र पहिरोले ड्यामसाइडको कन्ट्रोल बिल्डिङमा क्षति पुर्‍याउँदा त्यहाँ रहेका बहुमूल्य सामान र उपकरणहरू गायब भए। विपदको समयमा सुरक्षा र संरक्षण गर्नुपर्ने निकायको नेतृत्वमाथि नै ती सामान हराउनुमा 'सन्देहास्पद' भूमिका रहेको आरोप लागेको छ।

सेटिङ र कमिसनको खेलस् आयोजनाभित्रैका कर्मचारीहरूका अनुसार, बाँधस्थलमा थुप्रिएको बालुवा र गेग्रान (मकिङ) व्यवस्थापन गर्न अर्को आयोजनासँग मिलेर व्यक्तिगत लाभ लिएको र आयोजनाको उत्पादन क्षमतामा ह्रास पुर्‍याएको आरोप रञ्जितमाथि छ।

ब्रुमर खरिदमा 'मोटो' रकमको लोभ: आयोजनामा भएको पुरानो ब्रुमर सामान्य मर्मत गरेर चलाउन सकिने अवस्था हुँदाहुँदै एक अर्बभन्दा बढी खर्च गरेर नयाँ ब्रुमर किन्ने प्रक्रिया अघि बढाउन रञ्जित सक्रिय रहेको स्रोतको दाबी छ।

शक्तिकेन्द्र धाउँदै 'विवादास्पद' पात्र

आफूमाथि लागेका यी तमाम आरोपहरूको प्रवाह नगरी रञ्जित यतिबेला राजनीतिक शक्तिकेन्द्र र मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूको ढोका ढकढक्याइरहेका छन्। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको विश्वास जितेर निमित्त पड्काएका उनी अब 'फुल फ्लेज्ड' सीईओ बन्ने दाउमा छन्।

तर, आयोजनाका सरोकारवालाहरू भने चिन्तित छन्। 'जसले आयोजनालाई दुहुनो गाई बनाए, उनैलाई फेरि नेतृत्व सुम्पिनु भनेको तामाकोसीलाई पूर्ण रूपमा समाप्त पार्नु हो,' एक उच्च कर्मचारीले नाम नछाप्ने सर्तमा बताए।

माथिल्लो तामाकोसी केवल एउटा जलविद्युत आयोजना मात्र होइन, यो नेपालीहरूको पसिना र लगानीको प्रतीक हो। यस्तो संवेदनशील निकायमा विवादित र दाग लागेका पात्रहरूलाई नेतृत्व दिँदा आयोजना झन् ओरालो लाग्ने निश्चित छ।

सरकार र सम्बन्धित निकायले रञ्जितमाथि लागेका चोरी र भ्रष्टाचारका आरोपहरूको गम्भीर छानविन गरी एक स्वच्छ, व्यावसायिक र नैतिकवान नेतृत्व नियुक्त गर्नु नै अहिलेको प्रमुख आवश्यकता देखिन्छ। नत्र, सुनको अण्डा दिने भनिएको यो कुखुरी अन्ततः इतिहासको एउटा दुखद अध्याय मात्र बन्नेछ।

प्रतिक्रिया