info@nawayug.com

चीनले बनायो विद्युतीय व्यावसायिक विमान, चालकसहित पहिलो परीक्षण उडान सम्पन्न

काठमाडौं । चीनले आफ्नै प्रविधिमा विकास गरेको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमानले पहिलोपटक चालकसहित परीक्षण उडान गरेको छ ।

चीनको कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक)का अनुसार सीई–२५ए नामक उक्त विमानले शनिबार पूर्वी चीनको शान्दोङ प्रान्तस्थित बिन्झाउमा पहिलो परीक्षण उडान गरेको हो ।

उक्त उडानमा दुई जना चालक र एक जना उडान परीक्षण इन्जिनियर सहभागी थिए ।

उडानका क्रममा विमान सामान्य रूपमा सञ्चालन भएको र सबै कार्यसम्पादन सूचक अपेक्षाअनुसार रहेको कोम्याकले जनाएको छ ।

सीई-५ए कोम्याकले विकास गरेको पहिलो विद्युतीय व्यावसायिक विमान हो ।

मुख्यतः सहरहरूबीचको व्यावसायिक उडानका लागि डिजाइन गरिएको यस विमानमा १९ जना यात्रु अटाउन सक्छन् ।

यसको अधिकतम उडान भार १० टन रहेको छ । विमानले प्रतिघण्टा ३०० किलोमिटरको गतिमा उडान गर्न सक्छ ।

त्यस्तै, यसको उडान उचाइ अधिकतम २ हजार ४०० मिटर र एकपटकमा उड्न सक्ने दूरी ४०० किलोमिटर रहेको छ ।

यसअघि उक्त विमानले यसै वर्ष फेब्रुअरी २ मा पहिलोपटक चालकविहीन स्वचालित परीक्षण उडान गरेको थियो ।

कोम्याक, चिनियाँ ब्याट्री निर्माता कम्पनी सीएटीएल, साङ्घाई जियाओ तोङ विश्वविद्यालयलगायत संस्थाको संयुक्त सहकार्यमा विमान विकास गरिएको हो । यसले अहिलेसम्म १९ पटक चालकविहीन स्वचालित उडान परीक्षण पूरा गरिसकेको छ ।

चीनको नागरिक उड्डयन प्रशासनले उक्त विमानको प्रकार प्रमाणीकरणका लागि कोम्याकले दिएको आवेदनसमेत स्वीकार गरेको छ ।

यो प्रमाणीकरण प्रक्रिया विमानलाई व्यावसायिक उडानका लागि अनुमति दिन आवश्यक चरण हो ।

प्रतिक्रिया