विराटनगर । तीन सातादेखि अवरुद्ध नेपाली चिया निर्यात अन्ततः पुनः सुचारु हुने भएको छ । भारतको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा लागू गरेको अनिवार्य नमूना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) सम्बन्धी कडा व्यवस्था फिर्ता लिएपछि नेपालबाट भारततर्फको चिया निकासी सहज बनेको हो ।
भारतीय टी बोर्डले मंगलबार राति नयाँ ‘कोरिजेन्डम–२’ जारी गर्दै भारतको आन्तरिक बजारका लागि आयात हुने चियामा अनिवार्य परीक्षण नगर्ने निर्णय गरेको छ । यससँगै वैशाख १८ गतेदेखि ठप्प बनेको नेपाली चिया निर्यात बुधबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने बाटो खुलेको छ ।
भारतले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अनुसार नेपालबाट भारत प्रवेश गर्ने प्रत्येक ट्रकको चियाको नमूना छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने थियो । त्यसको लागि प्रतिट्रक ११ हजार १ सय २० भारतीय रुपैयाँ शुल्क तिर्नुपर्ने र रिपोर्ट आउन कम्तीमा दुई सातासम्म कुर्नुपर्ने व्यवस्था गरेको थियो ।
यो व्यवस्थाले नेपाली चिया उद्योग पूर्ण रूपमा प्रभावित बनेको थियो । सीमामा गाडी रोकिँदा चियाको गुणस्तर बिग्रने, लागत बढ्ने र व्यापार नै ठप्प हुने अवस्था सिर्जना भएको थियो ।
परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासको सक्रिय पहलपछि भारतले आफ्नो निर्णय संशोधन गरेको कार्यवाहक राजदूत डा।सुरेन्द्र थापाले बताएका छन् । “नेपाल सरकारको निरन्तर पहल र भारत सरकारको सकारात्मक सहयोगपछि समस्या समाधान भएको हो,” उनले भने ।
नयाँ संशोधित व्यवस्थाअनुसार अब भारतको घरेलु बजारका लागि जाने चियामा टी बोर्डले अनिवार्य परीक्षण गर्ने छैन । भन्सार वा भारतीय खाद्य सुरक्षा निकाय (एफएसएसएआई) ले जोखिम व्यवस्थापन प्रणालीअनुसार आवश्यक परे मात्रै ‘र्यान्डम’ परीक्षण गर्न सक्नेछन् ।
भारतबाट तेस्रो मुलुकमा पुनः निर्यात (रि–एक्सपोर्ट) गरिने चियाका हकमा भने अनिवार्य परीक्षणको व्यवस्था कायम रहनेछ । नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतले लागू गरेको कडा नियम तत्कालका लागि पूर्ण रूपमा हटाएको बताए । “अब पहिलेजस्तै चिया निर्यात सहज रूपमा हुनेछ,” उनले भने ।
नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीले भारतीय निर्णयले किसान, उद्योगी र निर्यातकर्तालाई ठूलो राहत मिलेको बताए । “अहिलेको सहजीकरणले निर्यात पुनः चलायमान बनाएको छ,” उनले भने ।
भारतीय निर्णयका कारण झण्डै तीन सातासम्म नेपाली चिया उद्योग संकटमा परेको थियो । नेपालबाट भारत निर्यात हुने ठूलो परिमाणको अर्थोडक्स र सीटीसी चिया सीमामै रोकिएको थियो ।
गत आर्थिक वर्षमा मात्रै नेपालबाट भारततर्फ ३ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको चिया निर्यात भएको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ३३ करोड रुपैयाँ बराबरको चिया भारत निकासी भइसकेको छ ।
हाल नेपालभर २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ भने साना–ठूला गरी १२० भन्दा बढी चिया उद्योग सञ्चालनमा छन् । यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिस आश्रित छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com