मकवानपुर । नेपालमै एआई, डेटा साइन्स, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (आईओटी) र फोटोनिक्सजस्ता भविष्यका प्रविधि अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ अवसर खुलेको छ। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, चित्लाङले कम्प्युटर साइन्स एन्ड टेक्नोलोजी अन्तर्गत अत्याधुनिक स्नातक कार्यक्रम सञ्चालनमा ल्याएको छ।
विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको डिजिटल अर्थतन्त्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमले विद्यार्थीलाई आधुनिक प्रविधिको ज्ञान, अनुसन्धान क्षमता र व्यावहारिक सीप प्रदान गर्ने लक्ष्य राखेको छ।
चार वर्ष अर्थात् आठ सेमेस्टरमा पूरा हुने यो कार्यक्रम कुल १३० क्रेडिट आवरको हुनेछ। परम्परागत कम्प्युटर विज्ञानको आधारभूत ज्ञानसँगै भविष्यमा महत्वपूर्ण मानिएका प्रविधिलाई समेटेर पाठ्यक्रम तयार गरिएको विश्वविद्यालयले जनाएको छ।
कार्यक्रमलाई मुख्यतः तीन विशेषज्ञता क्षेत्रमा विभाजन गरिएको छ। जसअन्तर्गत एआई, डेटा साइन्स, अटोनोमस एन्ड इन्टेलिजेन्ट सिस्टम तथा कम्युनिकेसन, फोटोनिक्स एन्ड सेन्सिङ रहेका छन्। विद्यार्थीले आफ्नो रुचि र भविष्यको करियरअनुसार यीमध्ये उपयुक्त क्षेत्रमा विशेषज्ञता हासिल गर्न सक्नेछन्।
यस कार्यक्रमको विशेष पक्ष भनेको अनुसन्धानमा आधारित शिक्षण र परियोजनामुखी सिकाइ हो। विद्यार्थीले कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै प्रयोगशालामा प्रत्यक्ष अभ्यास गर्ने, वास्तविक समस्यामा आधारित परियोजना निर्माण गर्ने तथा नयाँ प्रविधिको विकास र प्रयोग गर्ने अवसर पाउनेछन्।
अध्ययनका क्रममा विद्यार्थीले सफ्टवेयर विकास, एआई प्रणालीको डिजाइन, डेटा विश्लेषण, आइओटी उपकरण तथा सेन्सर प्रणाली निर्माण र स्वचालित प्रविधिसम्बन्धी प्रयोगात्मक अभ्यास गर्न सक्नेछन्। उद्योगसँगको सहकार्य र अनुसन्धानमा आधारित शिक्षण पद्धतिले विद्यार्थीलाई व्यावसायिक रूपमा दक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम पूरा गरेका विद्यार्थीका लागि सफ्टवेयर तथा एआई इन्जिनियरिङ, डेटा विश्लेषण, रोबोटिक्स, आइओटी प्रणाली विकास, सञ्चार प्रविधि, फोटोनिक्स तथा अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा करियर निर्माण गर्ने अवसर रहनेछ। साथै, विश्वविद्यालयमै भविष्यमा सञ्चालन हुने एआई तथा डाटा साइन्ससम्बन्धी स्नातकोत्तर र विद्यावारिधि तहको अध्ययन तथा अनुसन्धानका लागि समेत यस कार्यक्रमले आधार तयार गर्नेछ
नेपालको डिजिटल रूपान्तरणलाई गति दिन आवश्यक जनशक्ति उत्पादन गर्नु पनि कार्यक्रमको महत्वपूर्ण उद्देश्य हो। कृषि, स्वास्थ्य, उद्योग, ऊर्जा, सञ्चार तथा वातावरणलगायत विभिन्न क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढिरहेको अवस्थामा विद्यार्थीलाई प्रविधि प्रयोगकर्ता मात्र नभई विकासकर्ता, अनुसन्धानकर्ता, नवप्रवर्तक र उद्यमीका रूपमा विकास गर्ने लक्ष्य विश्वविद्यालयले लिएको छ।
यस कार्यक्रममा वार्षिक २४ जना विद्यार्थीलाई मात्र भर्ना गरिने व्यवस्था छ। सीमित विद्यार्थी संख्याका कारण व्यक्तिगत शैक्षिक मार्गदर्शन, प्रयोगशालामा पर्याप्त अभ्यास र अनुसन्धानमा सक्रिय सहभागिताको अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।
भर्नाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान संकायमा कक्षा १२ वा सोसरह उत्तीर्ण गरी न्यूनतम जीपीए २.४ प्राप्त गरेका विद्यार्थी योग्य हुनेछन्। यसका अतिरिक्त कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ वा सम्बन्धित विषयमा तीनवर्षे डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थीले पनि आवेदन दिन सक्नेछन्।
मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले अनुसन्धान, नवप्रवर्तन र अत्याधुनिक प्रविधिमा आधारित उच्च शिक्षालाई प्राथमिकता दिँदै आएको छ। विश्वविद्यालयको यो नयाँ कार्यक्रमले नेपाली विद्यार्थीलाई स्वदेशमै आधुनिक प्रविधिको अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा योगदान पुर्याउने विश्वास गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com