काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता, विवादास्पद निर्णय र बढ्दो महँगीबीच आज मंगलबार अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रपति ट्रम्पको पदावधिलाई प्रभावित नगरे पनि बाँकी दुई वर्ष कति सहज वा चुनौतीपूर्ण हुनेछन् भन्ने निर्धारण गर्न सक्छ ।
अमेरिकी मतदाताले आज प्रतिनिधिसभाका सबै ४३५ सदस्य र सिनेटका १०० मध्ये ३५ सदस्य चयन गर्दैछन् । विभिन्न राज्यमा गभर्नरका पदका लागि पनि निर्वाचन हुँदैछ ।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचन जितेर ह्वाइट हाउस फर्किएका ट्रम्पका लागि यो निर्वाचन आफ्नो लोकप्रियता जाँच्ने पहिलो ठूलो राष्ट्रिय परीक्षा हो । अर्कोतर्फ, सन् २०२४ को निर्वाचनमा पराजित डेमेक्र्याटिक पार्टीका लागि संसद्मा शक्ति फर्काउने अवसर ।
निर्वाचनको परिणामले अमेरिकी घरेलु राजनीतिमा मात्र होइन, युक्रेन युद्ध, इरानसँगको द्वन्द्व, व्यापार शुल्क, आप्रवासन नीति र विश्व अर्थतन्त्रमा समेत प्रभाव पार्न सक्छ ।
मध्यावधि निर्वाचन राष्ट्रपतिको चुनावजस्तो भने होइन । यसमा नयाँ राष्ट्रपति चयन गरिँदैन । तर, राष्ट्रपतिको कार्यकालको बीचमा हुने भएकाले मतदाताले सरकारको कामप्रति आफ्नो समर्थन वा असन्तुष्टि व्यक्त गर्ने अवसरका रूपमा यसलाई लिने गर्छन् ।
ट्रम्पको दोस्रो कार्यकालमा अर्थतन्त्र, जीवनयापनको खर्च, आप्रवासन नियन्त्रण र विदेश नीतिले अमेरिकी राजनीतिलाई ध्रुवीकृत बनाएका छन् ।
रोयटर्स र इप्सोसको निर्वाचनअघिको सर्वेक्षणमा ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन करिब ३२ प्रतिशतमा झरेको देखिएको थियो । नोभेम्बर २ मा सार्वजनिक रोयटर्सको अर्को रिपोर्टअनुसार कंग्रेसका लागि मतदाताको रोजाइमा डेमोक्र्याटलाई ४६ प्रतिशत र रिपब्लिकनलाई ३८ प्रतिशतले समर्थन गरेका थिए ।
यसले डेमोक्र्याटका लागि अनुकूल वातावरण देखाए पनि सर्वेक्षणको परिणाम नै निर्वाचनको नतिजा होइन । निर्वाचन क्षेत्रको संरचना, उम्मेदवारको लोकप्रियता र मतदानमा सहभागी हुने मतदाताको अनुपातले अन्तिम परिणाम बदल्न सक्छ ।
ट्रम्पले आफ्नो चुनावी अभियानमा रिपब्लिकन उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेलेका छन् । उनले विभिन्न राज्यमा चुनावी सभा गरेका छन् । यसले निर्वाचनलाई स्थानीय उम्मेदवारको प्रतिस्पर्धामा सीमित नराखी ट्रम्पको नेतृत्वप्रतिको समर्थन र विरोधको जनमतसंग्रहजस्तो बनाएको छ ।
निर्वाचनअघि प्रतिनिधिसभामा रिपब्लिकनको २१८ र डेमोक्र्याटको २१४ सिट थियो । दुई सिट रिक्त थिए । सिनेटमा रिपब्लिकनसँग ५३ र डेमोक्र्याटसँग आबद्ध स्वतन्त्र सदस्यसहित विपक्षी खेमासँग ४७ सिट थिए । दुवै सदनमा रिपब्लिकनको बहुमत रहेकाले ट्रम्पले आफ्ना प्राथमिकताअनुसार कानुन निर्माण, बजेट व्यवस्थापन र नियुक्तिसम्बन्धी काम अघि बढाउन तुलनात्मक सहजता पाएका छन् ।
डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत प्राप्त गरे भने यो अवस्था बदलिन सक्छ । पहिलो, प्रतिनिधिसभाका समितिहरूको नेतृत्व डेमोक्र्याटको हातमा जानेछ । उनीहरूले ट्रम्प प्रशासनका निर्णय, सरकारी खर्च, आप्रवासन नियन्त्रणको कार्यान्वयन र इरान युद्धसम्बन्धी नीतिमाथि संसदीय सुनुवाइ तथा अनुसन्धान अघि बढाउन सक्छन् ।
दोस्रो, ट्रम्पले अघि सारेका कतिपय विधेयक र बजेटसम्बन्धी प्रस्ताव रोक्न वा परिवर्तन गर्न विपक्षीलाई अवसर मिल्नेछ । तेस्रो, ह्वाइट हाउस र संसद्बीच टकराव बढ्न सक्छ । त्यसले सरकारी खर्चसम्बन्धी विवाद, बजेट पारित गर्न कठिनाइ र सरकारी कामकाज बन्द हुने जोखिमसमेत बढाउन सक्छ ।
तर, प्रतिनिधिसभामा बहुमत गुमाउँदैमा ट्रम्पको कार्यकारी अधिकार समाप्त हुँदैन । उनले विधेयकमा भिटो प्रयोग गर्न सक्छन् । विदेश नीति, आप्रवासन र व्यापार शुल्कसम्बन्धी धेरै निर्णयमा राष्ट्रपतिको कार्यकारी अधिकार पनि रहन्छ ।
त्यसैले डेमोक्र्याटले प्रतिनिधिसभा जिते भने ट्रम्प सरकारलाई चुनौती दिन सक्नेछन्, तर उनको सम्पूर्ण नीति उल्ट्याउन सक्ने छैनन् ।
प्रतिनिधिसभाभन्दा सिनेटको निर्वाचन परिणाम पनि महत्त्वपूर्ण छ । सिनेटले मन्त्रिपरिषद्का सदस्य, राजदूत र संघीय न्यायाधीशका नियुक्ति अनुमोदन गर्छ । सर्वोच्च अदालतमा रिक्त पदपूर्ति गर्नुपर्ने अवस्था आएमा सिनेटको राजनीतिक संरचना अझ महत्त्वपूर्ण हुनेछ ।
डेमोक्र्याटले सिनेटमा पनि बहुमत प्राप्त गरे भने ट्रम्प प्रशासनका नियुक्तिहरू रोक्ने वा ढिलाइ गर्ने क्षमता बढ्नेछ । उनीहरूले विदेश नीति र सरकारी खर्चसम्बन्धी विषयमा पनि आफ्नो प्रभाव विस्तार गर्न सक्छन् । तर सिनेटमा डेमोक्र्याटको बहुमत आउने सम्भावना प्रतिनिधिसभाको तुलनामा कठिन देखिएको निर्वाचनपूर्वका विश्लेषणले जनाएका छन् ।
रोयटर्सका अनुसार अलास्का, मिशिगन, आयोवा, कन्सास, मेन, ओहायो र टेक्ससलगायतका प्रतिस्पर्धात्मक राज्यको नतिजाले सिनेटको शक्ति सन्तुलन निर्धारण गर्न सक्छ । यदि डेमोक्र्याटले प्रतिनिधिसभा जिते तर सिनेटमा रिपब्लिकनको बहुमत कायम रह्यो भने ट्रम्पमाथि संसदीय निगरानी बढ्नेछ, तर नियुक्ति र कानुन निर्माणमा रिपब्लिकनको प्रभाव कायम रहनेछ ।
दुवै सदन डेमोक्र्याटको नियन्त्रणमा गएमा ट्रम्पको बाँकी कार्यकालमा शक्ति सन्तुलनको अवस्था धेरै बदलिन सक्छ । डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत प्राप्त गरे भने ट्रम्प प्रशासनमाथि छानबिनको सम्भावना बढ्नेछ । त्यससँगै महाभियोगको राजनीतिक बहस पनि चर्किन सक्छ ।
तर महाभियोग र राष्ट्रपतिलाई पदबाट हटाउनु दुई फरक प्रक्रिया हुन् । प्रतिनिधिसभाले महाभियोग लगाउने प्रस्ताव पारित गर्न सक्छ, तर राष्ट्रपतिलाई पदबाट हटाउन सिनेटमा दोषी ठहर गर्न आवश्यक संवैधानिक प्रक्रिया पूरा हुनुपर्छ ।
त्यसैले डेमोक्र्याटले प्रतिनिधिसभा जिते भन्दैमा ट्रम्प पदबाट हट्ने निश्चित हुँदैन । महाभियोगको सम्भावना राजनीतिक र कानुनी परिस्थितिमा निर्भर रहनेछ ।
यसबाहेक, ट्रम्पले कंग्रेसको समर्थन कम भए पनि कार्यकारी आदेश र अन्य अधिकार प्रयोग गरेर आफ्नो नीतिलाई निरन्तरता दिने प्रयास गर्न सक्छन् । निर्वाचनपूर्व रोयटर्सले जनाएअनुसार ह्वाइट हाउसले डेमोक्र्याटले कंग्रेसको नियन्त्रण लिएमा पनि कार्यकारी अधिकारमार्फत अघि बढाउन सकिने नीतिको तयारी गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com