काठमाडौं । साउदी अरबले यमनका हुथी विद्रोहीले प्रहार गरेको एक ड्रोन मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै आफ्नो हवाई सुरक्षा प्रणालीले नष्ट गरेको दाबी गरेको छ ।
साउदी अरबका विभिन्न क्षेत्रमा हुथी सशस्त्र समूहका आक्रमण बढिरहेका बेला साउदी हवाई सुरक्षा प्रणालीले ड्रोनलाई नष्ट गरेको हो ।
बीबीसी फारसीका अनुसार यमन युद्धमा साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीले एक विज्ञप्तिमार्फत हुथी समूहले मक्कालाई लक्षित गरेको यो दोस्रो घटना भएको बताएका छन् ।
यसअघि जुलाई २०१७ मा हुथी समूहले मक्कातर्फ पहिलोपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
यसैबीच, मंगलबार १५ सेप्टेम्बरमा मक्का, जेद्दा र ताइफमा केही समयका लागि सुरक्षा सतर्कता जारी गरिएको थियो । त्यसपछि साउदी नागरिक सुरक्षा अधिकारीहरूले खतरा टरिसकेको घोषणा गरेका थिए ।
हालैका झडपका क्रममा मक्कामा यसअघि यस्तो घटना नदेखिएको भन्दै उक्त सुरक्षा चेतावनीलाई विशेष रूपमा हेरिएको छ ।
गठबन्धनका अनुसार, त्यसको एक दिनअघि हुथी समूहले साउदी अरबका तीन सहरमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा १३ जना सर्वसाधारण घाइते भएका थिए ।
आक्रमणमा सातवटा घर र दुईवटा सवारीसाधनमा क्षति पुगेको बताइएको छ ।
यता, बीबीसी फारसीका अनुसार हुथी समूहले मक्का वा अन्य मुस्लिम पवित्रस्थलहरूलाई कुनै पनि प्रकारको खतरा नरहेको दाबी गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com