काठमाडौं । महँगी, जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको अवस्थाप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा शनिबार लगातार तेस्रो साता विशाल प्रदर्शन भएको छ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर करिब ३ लाख २० हजार मानिस प्रदर्शनमा सहभागी भएका छन्। तर विद्यार्थी तथा युवा संगठनहरूले भने प्रदर्शनमा सहभागीको संख्या झन्डै ५ लाख रहेको दाबी गरेका छन्।
शनिबारको प्रदर्शन अक्टोबर १७ यता भएका ठूला विरोध कार्यक्रममध्ये तेस्रो हो। सरकारी तथ्यांकअनुसार अक्टोबर १७ मा ५ लाख ५० हजार र अक्टोबर २४ मा ४ लाख १० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए।
यसपटक सहभागीको संख्या अघिल्ला दुई साताको तुलनामा घटेको छ।
पेरिसमा मात्रै स्थानीय समयअनुसार साँझ ५ बजेसम्म ७० हजार प्रदर्शनकारी सडकमा उत्रिएको गृह मन्त्रालयले जनाएको छ। विद्यार्थी तथा युवा संगठनहरूले भने राजधानीमा २ लाख मानिस सहभागी भएको दाबी गरेका छन्।
प्रदर्शनकारीहरूले बढ्दो महँगी, आवासको समस्या, शिक्षा तथा सार्वजनिक सेवाको कमजोर अवस्था र सरकारप्रतिको असन्तुष्टिलगायत विषय उठाएका थिए। विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी, श्रमिक संगठन र अन्य समूह प्रदर्शनमा सहभागी भएका थिए।
प्रदर्शनका कारण राजधानी पेरिसको सार्वजनिक यातायात सेवा प्रभावित भएको थियो। यातायात सेवा प्रदायक आरएटीपीले शनिबार ४० भन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको जनाएको छ। केही क्षेत्रमा ट्राम सेवासमेत प्रभावित भएको थियो।
दिनभर अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि केही सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भयो। पेरिसमा प्रदर्शनको अन्त्यतिर केही समूहले प्रहरीमाथि ढुङ्गा तथा अन्य वस्तु प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो।
लियोन र अन्य सहरमा पनि प्रदर्शन तितरबितर पार्ने क्रममा झडप भएको समाचारमा उल्लेख छ।
प्रदर्शनका क्रममा सम्भावित हिंसा नियन्त्रण गर्न देशभर ७० हजार प्रहरी र जन्डार्म तैनाथ गरिएको थियो। शनिबार रातिसम्म देशका विभिन्न स्थानमा सयौँ मानिस पक्राउ परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
लगातार तीन सातादेखि जारी प्रदर्शनमा सहभागीको संख्या सरकारी तथ्यांकअनुसार घट्दै गए पनि सरकारविरुद्धको असन्तुष्टि कायमै छ। युवा तथा विद्यार्थी संगठनहरूले आफ्ना माग सम्बोधन नभए आन्दोलन जारी राख्ने बताएका छन्।
(एजेन्सीहरूको सहयोगमा)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com