info@nawayug.com

नागढुङ्गा सुरुङमार्ग सञ्चालनसँगै शुल्क संकलन सुरु

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु गरिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आजदेखि टोल शुल्क निर्धारण गरिएको जनाएको छ ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क तोकिएको छ ।

सूचनाअनुसार आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यसैगरी, मिनी बस तथा मिनी टिपररट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशामा २०० रुपैयाँ तिर्नुपर्नेछ।

मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ ।

सुरुवाती चरणमा नगद तथा क्यूआर (QR) प्रणालीमार्फत दस्तुर भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा आरएफआईडी (RFID) कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिए ।

सुरुङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ । यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ । दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् ।

सडक दस्तुर लागू भएसँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्कअनुसार यात्रा गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया