भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।
फन्डारेड्स नामक गैरसरकारी संस्थाका निर्देशक जेभियर टाराजोनाले शनिबार एएफपीलाई बताएअनुसार शुक्रबार भेनेजुएलाको अपुरे राज्यस्थित ग्रामीण क्षेत्रमा रहेको विद्रोही शिविरमा सेनाले आक्रमण गरेको थियो । सन् २०१६ मा कोलम्बियाली विद्रोही समूहसँग भएको शान्ति सम्झौतापछि भेनेजुएलामा भएको यो पहिलो यस्तो आक्रमण भएको उनको दाबी छ ।
संस्थाले सार्वजनिक गरेको भिडियोमा जमिनमा शवहरू छरिएका, रूखहरू ढलेका र शिविर रहेको अनुमान गरिएको स्थानमा भग्नावशेष देखिएको छ । संस्थाका एक कर्मचारीले भिडियोमा कम्तीमा नौ वटा शव गणना गरेको टाराजोनाले बताए ।
भेनेजुएला सरकारले यस विषयमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधको तत्काल जवाफ दिएको छैन ।
सन् २०१६ मा कोलम्बियाली सरकारसँग शान्ति सम्झौता गरेपछि ईएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही समूहका रूपमा रहेको छ । उक्त सम्झौतामा क्रान्तिकारी सशस्त्र बल (फार्क–एफएआरसी) ले हस्ताक्षर गरेको थियो ।
कोलम्बिया र भेनेजुएलाबीच दुई हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ । उक्त सीमावर्ती क्षेत्रमा अन्य विद्रोही समूहहरू पनि सक्रिय छन् । शान्ति सम्झौता अस्वीकार गरेका फार्कका केही समूहले कोकिन तस्करी र अवैध खानी सञ्चालनमाथि नियन्त्रण कायम गर्न एकअर्कासँग सङ्घर्ष गर्दै आएका छन् ।
लामो समयदेखि कोलम्बियाली सरकारले वामपन्थी शासन रहेको भेनेजुएलाले कोलम्बियाली विद्रोही समूहलाई आश्रय दिँदै आएको आरोप लगाउँदै आएको थियो ।
यद्यपि, राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत भएपछि भेनेजुएला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नजिकको निगरानी र प्रभावमा रहेको छ । अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डार तथा अन्य प्राकृतिक स्रोतबाट आर्थिक लाभ लिने प्रयास गरिरहेको छ ।
सैन्य मामिलाकी जानकार मानव अधिकारकर्मी रोसियो सान मिगुएलका अनुसार अपुरे राज्यका स्थानीय बासिन्दाले शुक्रबारको सैन्य कारबाहीबारे जानकारी दिएका थिए । उनीहरूले आक्रमणमा थप १० जना ईएलएन लडाकु मारिएको हुन सक्ने बताएका छन् ।
रासस
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com