काठमाडौं । जर्मनीमा महँगी, सरकारी खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएका प्रदर्शन हिंसात्मक बनेका छन् ।
शनिबार राति जर्मनीको वित्तीय राजधानी फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन् ।
फ्र्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्याम्बर्गलगायत सहरमा पनि हिंसात्मक घटना भएका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरेको थियो ।
प्रदर्शनकारीले पटाका, ढुङ्गा र बोतल प्रहार गरी आपत्कालीन सेवामा खटिएका कर्मचारीलाई समेत निशाना बनाएका थिए ।
यसअघि हजारौँ युवाले ‘जेन जी रेगेल्ट’ नामक अभियान समूहको नेतृत्वमा प्रदर्शन गरेका थिए । जर्मन भाषाको उक्त नाराको अर्थ ‘जेन जीले अब जिम्मेवारी लिनेछ’ भन्ने हुन्छ ।
प्रदर्शनकारीले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, जीवनयापनको बढ्दो लागत नियन्त्रण गर्नुपर्ने, सरकारी खर्च कटौती रोक्नुपर्ने र अनिवार्य सैन्य सेवाको व्यवस्था खारेज गर्नुपर्ने माग गरेका थिए ।
जर्मनीमा भएका यी प्रदर्शन फ्रान्समा युवा नेतृत्वमा भएका विरोध प्रदर्शनपछि भएका हुन् । फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए ।
समाचार संस्था एएफपीका अनुसार फ्र्याङ्कफर्टको प्रमुख व्यापारिक सडकको ठूलो हिस्सा प्रहरीले बन्द गरेको थियो । प्रहरी प्रवक्ताले सहरका विभिन्न स्थानबाट केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा करिब १८ हजार मानिस सहभागी भएका थिए । यो संख्या आयोजकले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको अनुमानको तुलनामा झन्डै आधा हो ।
‘जेन जी रेगेल्ट’ की प्रवक्ता लीना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताका लागि आवाज उठाउनु रहेको बताएकी छन् ।
उनले स्वास्थ्य र शिक्षा प्रणालीलाई पर्याप्त सहयोग उपलब्ध गराउनु सबैभन्दा महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै अनिवार्य सैन्य सेवाको विरोध गरिन् । साथै, सैन्य सेवाको भार न्यायपूर्ण रूपमा बाँडिनुपर्ने उनको भनाइ थियो ।
दिनभर भएका प्रदर्शन अधिकांश शान्तिपूर्ण रहे पनि रात परेसँगै विभिन्न सहरमा हिंसा र प्रहरीसँग झडपका घटना भएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com