info@nawayug.com

बीपी राजमार्ग सुचारु गराउन पहिरो पन्छाउने कामलाई तीव्रता

काठमाडौं । निरन्तर वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा ल्याउन पहिरो तथा सडकमा थुप्रिएको लेदो हटाउने काम भइरहेको छ। शुक्रबार र शनिबार परेको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो थुप्रिएपछि यातायात सेवा अवरुद्ध भएको हो।

प्रहरीका अनुसार काभ्रेको रोशीस्थित गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ। पहिरो र लेदोका कारण शनिबार बिहानैदेखि उक्त राजमार्गमा सवारी आवागमन ठप्प छ।

वर्षाका कारण बीपी राजमार्गसँगै खोटाङ र ललितपुरका विभिन्न सडकखण्डसमेत अवरुद्ध भएका छन्।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, ललितपुर महानगरपालिका–२ सुन्दरीघाटस्थित बागमती खोला करिडोरको सडकमा खोलाको जलसतह बढेपछि आवागमन प्रभावित भएको छ। ललितपुरकै बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचे क्षेत्रमा कान्ति लोकपथमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

विभिन्न स्थानमा पहिरो खस्ने र खोलाको जलसतह बढ्ने क्रम जारी रहेकाले सडक खुलाउने प्रयाससँगै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया