info@nawayug.com

तिहारलक्षित विद्युत् व्यवस्थापनमा जुट्यो नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । नेपालीहरूको महान् पर्व तिहार नजिकिएको छ । उज्यालोको पर्वका रूपमा चिनिने तिहारमा विशेषगरी लक्ष्मीपूजाको दिन देशभर झिलिमिली बनाउने प्रचलन छ । तिहारको लक्ष्मीपूजाका दिन सबैभन्दा धेरै विद्युत् खपत हुने गरेको छ ।

लक्ष्मीपूजाका दिन नेपाल विद्युत् प्राधिकरणले विद्युत् लोड व्यवस्थापनका लागि कसरी तयारी गरेको छ भन्ने विषयमा आम उपभोक्ताको चासो देखिएको छ । विगतमा लक्ष्मीपूजाका दिन अत्यधिक विद्युत् माग हुने गरेको छ । यस वर्ष प्राकृतिक विपत्तिले केही चुनौती थपेको भए पनि विद्युत् आपूर्तिमा कुनै समस्या नआउने प्राधिकरणले स्पष्ट पारेको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिका अविरल वर्षा तथा पहिरोका कारण जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीकै कारण ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको छ ।

अन्य साना–ठूला आयोजनाहरू र प्रसारण लाइनमा समेत बाढीपहिरोले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन र आपूर्तिमा केही समस्या उत्पन्न भएको थियो ।

तर, प्राधिकरणले तिहारका दिन विद्युत् प्रणालीमा समस्या आएर झ्याप्प–झ्याप्प बत्ती जाने अवस्था हुन नदिन सम्पूर्ण तयारी गरेको जनाएको छ । प्राधिकरणले उत्पादन घटे पनि कुशल व्यवस्थापनका कारण तिहारमा विद्युत् आपूर्तिमा कुनै नकारात्मक प्रभाव नपर्ने बताएको छ ।

तिहार र लक्ष्मीपूजाको समयमा घरायसी प्रयोजनका लागि बत्ती तथा अन्य विद्युतीय उपकरणको प्रयोग ह्वात्तै बढ्ने गर्छ । घर, चोक र गल्लीहरू झिलिमिली बनाइन्छन् । तर, यही समयमा देशका अधिकांश ठूला उद्योग र कलकारखाना पूर्ण रूपमा बन्द हुने भएकाले प्रणालीमा अत्यधिक मागको चाप नपर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ बताउँछन् ।

‘चाडपर्वका बेला घरायसी बत्तीको माग बढे पनि ठूलो परिमाणमा विद्युत् खपत गर्ने उद्योगधन्दा बन्द रहन्छन् । यसले गर्दा घरायसीतर्फ बढेको मागलाई उद्योगतर्फको बचतले सजिलै पूर्ति गर्छ । प्राधिकरणले त्यहीअनुसार व्यवस्थापन गर्छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित प्राविधिक गडबडीलाई मध्यनजर गर्दै प्राधिकरणले देशभर आफ्नो संयन्त्रलाई तयारी अवस्थामा राखेको श्रेष्ठले बताए ।

उनले प्रणालीलाई थप भरपर्दो बनाउन देशभर क्षमता अपुग भएका ट्रान्सफर्मर फेर्ने, तारहरू सुदृढ गर्ने तथा सबस्टेसनहरूको मर्मतसम्भार गर्ने कामलाई विगतदेखि नै निरन्तरता दिइएको बताए ।

‘तिहारको अवधिभर कुनै पनि किसिमका प्राविधिक अवरोध, अवाञ्छित ट्रिपिङ वा लाइन जाने समस्या हुन नदिन प्राधिकरण पूर्ण रूपमा तयार छ । अब हाम्रा सबै टोली तयारी अवस्थामा छन् । मर्मत टोली, डिफेन्डर र नो लाइटका प्राविधिकहरू सबैलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ । तिहारमा कुनै समस्या आउँदैन,’ कार्यकारी निर्देशक श्रेष्ठले भने ।

उनका अनुसार अहिलेको मौसम न अत्यधिक जाडो न अत्यधिक गर्मी हुने खालको छ । यसले गर्दा एसी, हिटर वा पङ्खाजस्ता धेरै विद्युत् खपत गर्ने उपकरणको प्रयोग कम हुन्छ । जसले माग र आपूर्तिको सन्तुलनलाई थप सहज बनाउनेछ ।

गत वर्षहरूमा लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकामा ३५० देखि ३६० मेगावाटको हाराहारीमा मात्र माग हुने गरेको छ । समग्र राष्ट्रिय माग पनि १ हजार ५०० देखि १ हजार ६०० मेगावाटभन्दा माथि ननाघ्ने प्राधिकरणको प्रक्षेपण रहेको उनको भनाइ छ ।

गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को माग १ हजार ६५० मेगावाट रहेको थियो । त्यस्तै, २०८० सालमा १ हजार ४३८ मेगावाट र २०७९ सालमा १ हजार ३०५ मेगावाट माग रहेको थियो । हरेक वर्ष माग केही बढ्दो क्रममा रहे पनि यस वर्ष १ हजार ६०० मेगावाटको हाराहारीमै सीमित हुने अनुमान रहेको कार्यकारी निर्देशक श्रेष्ठको छ ।

सुक्खायामको सुरुवातसँगै नदीहरूमा पानीको बहाव घटेपछि समग्र विद्युत् उत्पादनमा भने केही संकुचन आउन थालेको छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका भएकाले हिउँद सुरु भएसँगै उत्पादन घट्नु स्वाभाविक मानिन्छ ।

अहिले नेपालको कुल जडित क्षमता करिब ४ हजार मेगावाट पुगिसकेको छ । तर, नदीमा पानीको सतह घटेको र बाढीले ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेकाले हाल कुल उत्पादन घटेर ३ हजार १०० देखि ३ हजार २०० मेगावाटको हाराहारीमा झरेको छ ।

आन्तरिक उत्पादन घटे पनि मागभन्दा आपूर्ति निकै धेरै भएकाले तिहारमा कुनै समस्या नहुने प्राधिकरणको भनाइ छ । प्रवक्ता घिमिरेका अनुसार लक्ष्मीपूजाका दिनसमेत उत्पादनभन्दा आन्तरिक खपत कम हुने भएकाले दिनभरमा ८०० देखि ९०० मेगावाटसम्म बिजुली बचत हुनेछ ।

बचत भएको विद्युत् भारततर्फ निर्यात गर्न सकिने अवस्था रहेको छ ।

‘आन्तरिक उत्पादन घटे पनि नेपाल अझै कम्तीमा एक महिनासम्म बाहिरबाट बिजुली खरिद वा आयात गर्नै नपर्ने सुदृढ र आत्मनिर्भर अवस्थामा रहेको छ,’ श्रेष्ठले भने ।

२०७५ सालअघि मुलुकमा दैनिक १४ घण्टासम्मको कहालीलाग्दो लोडसेडिङ हुने गरेको थियो । प्राधिकरणले तालिका नै बनाएर कुन समयमा बत्ती आउने र कुन समयमा जाने भनेर तोकेको हुन्थ्यो । लक्ष्मीपूजाका दिन पनि पालो कुरेर बत्ती बाल्नुपर्ने बाध्यता थियो । इन्भर्टर, जेनेरेटर र मैनबत्तीको व्यापार उच्च थियो ।

तर, प्राधिकरणले तत्कालीन समयमा भइरहेको चरम लोडसेडिङलाई २०७३ सालको लक्ष्मीपूजाका दिनबाटै परीक्षणका रूपमा अन्त्य गर्ने साहसिक सुरुवात गरेको थियो ।

कुशल व्यवस्थापन र दृढ इच्छाशक्तिका कारण २०७३ सालको लक्ष्मीपूजाबाट काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरिएको थियो । त्यो परीक्षण सफल हुँदै गएपछि र प्रणालीमा सुधार आउँदै गएपछि अन्ततः २०७५ साल वैशाखबाट सिङ्गो देशलाई पूर्ण रूपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

त्यो ऐतिहासिक लक्ष्मीपूजादेखि आजसम्म आइपुग्दा नेपालको ऊर्जा क्षेत्रले ठूलो फड्को मारिसकेको छ । 

बाढी र पहिरोले प्रणालीमा ४३० मेगावाटको ठूलो धक्का दिएको भए पनि उद्योगहरू बन्द रहने अवस्था र प्राधिकरणको चुस्त प्राविधिक तयारीका कारण विद्युत् समस्या नआउने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया