विराटनगर । विराटनगरको फिलचोकस्थित एक घरबाट फ्रिज चोरी गरेर भाग्न खोज्ने व्यक्ति गेटमाथिको तीखो फलामे किलामा अड्किएपछि प्रहरीले उद्धार गरेको छ। रातको समयमा चोरी गरेर भाग्ने क्रममा गेटमा अड्किएका उनी रातभर त्यही अवस्थामा अलपत्र परेका थिए।
प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्ति सुनसरीको दुहबीमा बस्दै आएका विकास झा हुन्। सामान डेलिभरी गर्ने कम्पनी ‘उपया’को कार्यालय भवन राति खाली रहेको मौका छोपेर उनी चोरी गर्न पुगेका थिए।
झाले घरभित्रबाट एक्लै फ्रिज बोकेर गेटसम्म ल्याएका थिए। फ्रिजलाई गेटमाथिबाट बाहिर निकालेर आफू पनि भाग्न खोज्दा उनको लुगा गेटमाथि रहेको तीखो फलामे किलामा अड्किएको थियो। त्यसपछि उनी गेटबाट ओर्लन नसकी रातभर त्यही अवस्थामा फसेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कविद कटुवालका अनुसार बिहान उज्यालो भएपछि बाटो हिँड्ने स्थानीयले उनलाई गेटमा अड्किएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले उनको उद्धार गरेको हो।
प्रहरीका अनुसार घाइते अवस्थामा रहेका झा लागूऔषधको नशामा समेत थिए। उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको छ। उपचारपछि उनीमाथि चोरीसम्बन्धी अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरी प्रमुख कटुवालले बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com