info@nawayug.com

कात्तिक १६ सम्म देशभर ७ हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु

काठमाडौँ । चालु वर्षको वैशाख १ गतेदेखि कात्तिक १६ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन्।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार उक्त अवधिमा पहिरो, सर्पदंश, आगलागी, बाढी, चट्याङ, हावाहुरी, भारी वर्षा, जनावरको आक्रमण, हिउँपहिरो, भूकम्पलगायतका विपद्का घटना भएका छन्।

प्राप्त विवरणअनुसार सबैभन्दा धेरै पहिरोका एक हजार ७३५ घटना भएका छन्। त्यस्तै, सर्पदंशका एक हजार ६६८, आगलागीका एक हजार ६४१, भारी वर्षाका ५९३, हावाहुरीका ५३७, बाढीका ४६६, जनावरको आक्रमणका ४१७ र चट्याङका ३३३ घटना भएका छन्।

यसैगरी वन डढेलोका १९२, लेक लाग्नेका ७९, भूकम्पका नौ, हिउँपहिरोका छ, असिनाका चार, डुङ्गा पल्टिनेका दुई र विस्फोटनको एक घटना भएका छन्। अन्य पाँच घटना पनि अभिलेखमा समेटिएका छन्।

विपद्का घटनामा सबैभन्दा धेरै सर्पदंशबाट ११६ जनाको मृत्यु भएको छ। पहिरोबाट ७७, बाढीबाट ४१, चट्याङबाट ३६, आगलागीबाट ३२, लेक लागेर २७ र जनावरको आक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, हिउँपहिरोबाट १९, हावाहुरीबाट १६, भारी वर्षाबाट सात, डुङ्गा पल्टिएर पाँच, वन डढेलोबाट एक, विस्फोटनबाट एक र अन्य घटनामा पाँच जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

विपद्का घटनामा परी हालसम्म दुई हजार ५२९ जना घाइते भएका छन् भने नौ हजार ८५७ परिवार विस्थापित भएका छन्।

यसैबीच, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिको विस्तृत विवरण प्रणालीमा समावेश गर्न बाँकी रहेकाले उक्त घटनाको क्षति यस तथ्याङ्कमा समेटिएको छैन।

रासस

प्रतिक्रिया