काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति आपत्ति जनाएको छ। इन्सेकले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पत्रकारमाथि भएको धरपकडबारे स्पष्ट जानकारी दिन सरकारसँग माग गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै इन्सेकले काठमाडौंका विभिन्न सञ्चार गृहबाट पत्रकार पक्राउ गरिएको र केही सञ्चार गृहमा धरपकडको प्रयास भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रहरीले शुक्रबार नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरेको थियो। त्यस्तै, सादा पोशाकमा रहेका प्रहरीले नयाँ पत्रिकाको कार्यालयमा प्रवेश गरी पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो।
प्रकाशित समाचार वा त्यसको विषयवस्तुप्रति असहमति हुन सक्ने भए पनि पत्रकार र सञ्चार गृहमा धरपकड गर्ने तथा त्रसित पार्ने कार्य लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने इन्सेकको भनाइ छ।
यस्ता गतिविधि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मान्यताविपरीत रहेको इन्सेकले जनाएको छ। स्वतन्त्र प्रेसले सरकार तथा सार्वजनिक निकायका कामकारबाहीमाथि निगरानी गर्ने, नागरिकलाई सुसूचित गराउने र राज्यलाई जवाफदेही बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे सरकार, सरकारसम्बद्ध राजनीतिक दल र प्रहरीले अनभिज्ञता जनाउनुलाई इन्सेकले रहस्यमय मानेको छ। घटना हुनु र सम्बन्धित निकायले त्यसबारे अनभिज्ञता जनाउनुले थप आशङ्का उत्पन्न गरेको इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
इन्सेकले पत्रकार पक्राउ तथा धरपकडको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न, स्पष्ट जानकारी दिन र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ। साथै, मानव अधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com