काठमाडौं । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडा टेस्ट क्रिकेटको चौथो इनिङ्समा विपक्षी ब्याटरका लागि घातक साबित हुँदै आएका छन्। उनले चौथो इनिङ्समा औसत प्रत्येक ३४ बलमा एक विकेट लिने प्रभावशाली कीर्तिमान बनाएका छन्।
न्युल्यान्ड टेस्टको पाँचौँ दिन अस्ट्रेलियालाई जितका लागि २८८ रन आवश्यक थियो। पहिलो इनिङ्सको प्रदर्शनका आधारमा अस्ट्रेलिया जितको बलियो दाबेदार मानिएको थियो। तर, नयाँ बल लिएर मैदानमा उत्रिएका रबाडाले खेलको अवस्था नै बदलिदिए।
उनले पहिलो ओभरमै म्याट रेन्स र मार्नस ल्याबुसनेलाई आउट गरे। त्यसपछि खतरनाक ब्याटर ट्राभिस हेडलाई पनि पभेलियन फर्काए। फलस्वरूप अस्ट्रेलिया २२ रन बनाउँदा तीन विकेट गुमाएर दबाबमा परेको थियो।
रबाडाले सुरु गरेको अस्ट्रेलियाको विकेट पतन १११ रनमा पुगेर रोकियो। अस्ट्रेलियाले १७६ रनको फराकिलो हार व्यहोर्यो। यस जितसँगै दक्षिण अफ्रिका आईसीसी टेस्ट वरीयताको पहिलो स्थानमा उक्लियो।
रबाडाको यो प्रदर्शन संयोग मात्र होइन। सन् २०१५ नोभेम्बरमा टेस्ट क्रिकेटमा डेब्यु गरेयता उनले चौथो इनिङ्समा विश्वका अन्य तीव्र गतिका बलरको तुलनामा उत्कृष्ट स्ट्राइक रेट कायम राखेका छन्।
रबाडाले टेस्टको चौथो इनिङ्समा हालसम्म २ हजार ४५५ बल बलिङ गर्दै ७१ विकेट लिएका छन्। अर्थात् उनले औसत प्रत्येक ३४ बलमा एक विकेट लिएका छन्। यस क्रममा उनले प्रतिविकेट औसत २० रन मात्र खर्चिएका छन्।
समकालीन विश्वस्तरीय तीव्र गतिका बलरसँग तुलना गर्दा रबाडाको नजिक इंग्ल्याण्डका क्रिस वोक्स छन्। वोक्सले चौथो इनिङ्समा औसत प्रत्येक ४० बलमा एक विकेट लिएका छन्। भारतका मोहम्मद शामीले ४२ बलमा र जसप्रित बुमराहले ४५ बलमा एक विकेट लिने गरेका छन्।
कम बलिङ गरेका कारण तथ्याङ्क राम्रो देखिएको हुन सक्ने तर्क पनि हुन सक्छ। तर रबाडाको हकमा यो अवस्था देखिँदैन। उनले चौथो इनिङ्समा २ हजार ४५५ बल अर्थात् ४०९ ओभर बलिङ गरिसकेका छन्। लामो समय बलिङ गर्दा पनि उनको प्रभावकारिता र विकेट लिने क्षमता कायम रहनुले उनको प्रदर्शनलाई थप विशेष बनाएको छ।
चौथो इनिङ्समा रबाडाका निर्णायक प्रदर्शन
चौथो इनिङ्समा विपक्षी टोलीको ब्याटिङ ध्वस्त पार्ने रबाडाको क्षमता नयाँ होइन। सन् २०१६ मा इंग्ल्याण्डविरुद्ध उनले ३२ रन खर्चेर ६ विकेट लिएका थिए। उनको घातक बलिङका कारण इंग्ल्याण्ड १०१ रनमै समेटिएको थियो। उक्त खेल दक्षिण अफ्रिकाले २८० रनले जितेको थियो।
त्यस्तै, सन् २०१७ मा श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध ५०७ रनको विशाल लक्ष्य पछ्याइरहेका बेला रबाडाले ५५ रन दिएर ६ विकेट लिएका थिए। उनले दिनेश चण्डिमाल र एन्जेलो म्याथ्युजजस्ता प्रमुख ब्याटरलाई आउट गरेपछि श्रीलंका २२४ रनमै अलआउट भएको थियो। दक्षिण अफ्रिकाले उक्त खेल २८२ रनले जितेको थियो।
सानो लक्ष्य रक्षा गर्न पनि रबाडा उत्तिकै प्रभावकारी छन्। सन् २०२३ मा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २४७ रनको लक्ष्य पछ्याउँदा रबाडाले ५० रन खर्चेर ६ विकेट लिएका थिए। उनको बलिङमा वेस्ट इन्डिज १५९ रनमै समेटिएपछि दक्षिण अफ्रिकाले ८७ रनको जित निकालेको थियो।
निर्णायक अवस्थामा विपक्षी टोलीको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्षमता रबाडाको प्रमुख विशेषता हो। केपटाउनमा अस्ट्रेलियाविरुद्धको पछिल्लो टेस्टमा पनि उनले पाँचौँ दिनको सुरुवातमै लगातार विकेट लिएर खेलको दिशा बदलिदिए।
चौथो इनिङ्समा निरन्तर उत्कृष्ट प्रदर्शन, लामो स्पेल बलिङ गर्ने क्षमता र दबाबका बेला विकेट निकाल्ने खुबीले रबाडालाई टेस्ट क्रिकेटका प्रभावशाली बलरमध्ये स्थापित गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com