काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा तत्कालीन मन्त्री मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक तथा हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा तथा छुट दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो।
अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गराएको प्रकरणमा कैफियत देखिएको दाबी गर्दै विशेष अदालतमा मुद्दा पेस गरेको छ। हाल विशेष अदालतमा यो मुद्दा रुजु हुने क्रममा रहेको छ भने यसअघि नै नेता नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि सोही अदालतमा विचाराधीन अवस्थामा छ।
त्यसैगरी, इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा धेरै जग्गा सट्टापट्टाका लागि मन्त्रिपरिषद्बाट निर्णय गराएर बिक्री गरिएको प्रकरणमा तत्कालीन मन्त्री मिनेन्द्र रिजालसहितलाई प्रतिवादी बनाइएको छ।
नेता नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले उक्त जग्गा बिक्री गर्न सहमति दिएको विषयलाई जोड्दै अख्तियारले भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेको हो। प्रारम्भिक सूचना अनुसार यस मुद्दामा कुल ९४ जनालाई प्रतिवादी बनाइएको छ भने ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।
विशेष अदालतको स्रोतले अख्तियारबाट आएको आरोपपत्र अध्ययन गरी हाल मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com