info@nawayug.com

एपस्टिनको मृत्यु आत्महत्या नभएको फरेन्सिक विज्ञको दाबी

काठमाडौं । यौन अपराधमा दोषी ठहरिएका अमेरिकी अर्बपति जेफ्री एपस्टिनको जेलभित्र भएको मृत्यु आत्महत्या नभई हत्या भएको हुन सक्ने एक फरेन्सिक विशेषज्ञले दाबी गरेका छन् ।

फरेन्सिक विशेषज्ञ प्राध्यापक माइकल फ्रिम्यानले बीबीसीको कार्यक्रम ‘न्युज नाइट’सँग कुरा गर्दै न्युयोर्क सहरको मेडिकल एक्जामिनर कार्यालयका अभिलेख र तस्बिरहरूको अध्ययनपछि एपस्टिनको घाँटी पछाडिबाट थिचेर हत्या गरिएको हुन सक्ने निष्कर्ष निकालेको बताएका हुन् ।

तर सन् २०१९ मा एपस्टिनको शव परीक्षण गरेका मेडिकल एक्जामिनरले भने उनको मृत्यु आत्महत्याका कारण भएको निष्कर्ष निकालेका थिए ।

त्यतिबेला शव परीक्षण गर्ने प्रमुख मेडिकल एक्जामिनर डा. बारबरा स्याम्पसनले एपस्टिनको शरीरमा देखिएका चोटहरू आत्महत्यासँग मेल खाने बताएकी थिइन् ।

उनले हत्याका क्रममा प्रतिकार गर्दा लाग्ने चोटको कुनै प्रमाण फेला नपरेको पनि उल्लेख गरेकी थिइन् ।

एपस्टिन सन् २०१९ अगस्ट १० मा न्युयोर्कस्थित जेलमा मृत फेला परेका थिए । त्यतिबेला उनी यौन तस्करीसम्बन्धी आरोपमा मुद्दाको सुनुवाइ पर्खिरहेका थिए ।

घाँटीमा नङका निशाना र शरीरमा चोट देखिएको दाबी

फरेन्सिक विशेषज्ञ फ्रिम्यानले सोमबार साँझ लन्डनमा आफ्नो अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेका थिए । उनले न्युयोर्क मेडिकल एक्जामिनर कार्यालयका अभिलेख तथा तस्बिरहरू पनि सार्वजनिक गरेका छन् ।

फ्रिम्यानले एपस्टिनको शव आफैँले नहेरेको र मेडिकल एक्जामिनरको प्रतिवेदनमा समावेश गरिएका विवरण तथा तस्बिरका आधारमा निष्कर्ष निकालेको बताएका छन् । ती कागजात एपस्टिनका भाइ मार्क एपस्टिनले उपलब्ध गराएका थिए ।

मार्कले लामो समयदेखि आफ्नो भाइको हत्या भएको दाबी गर्दै आएका छन् ।

फ्रिम्यानका अनुसार एपस्टिनको शरीरमा आक्रमणका संकेत देखिएका छन् ।

उनको बायाँ काँधमा गहिरो आन्तरिक रक्तस्राव भएको र अनुहारमा कुनै वस्तुले प्रहार गर्दा लाग्न सक्ने चोटका निशान भेटिएको उनको दाबी छ ।

उनले उपलब्ध प्रमाणले कुनै पासो वा डोरी प्रयोग गरेर एपस्टिनको घाँटी पछाडिबाट कसेको र त्यसपछि त्यही वस्तु प्रयोग गरेर उनको शव खाटबाट झुन्ड्याइएको हुन सक्ने संकेत गरेको बताएका छन् ।

फ्रिम्यानका अनुसार एपस्टिनको घाँटीमा पासोको निशानमाथि नङले कोतरेका जस्ता चिह्न पनि देखिएका छन् । उनका अनुसार यो घाँटी थिचिएको अवस्थामा पीडितले पासो हटाउन गरेको प्रयाससँग मेल खान्छ ।

उनले एपस्टिनको शरीरमा देखिएका चोट र शव भेटिएको अवस्थाबीच तालमेल नभएको दाबी गर्दै मृत्यु हत्या भएको हुन सक्ने निष्कर्ष निकालेका छन् ।

यद्यपि, त्यसबेला शव परीक्षण गर्ने मेडिकल एक्जामिनरले अमेरिकी न्याय मन्त्रालयको महानिरीक्षक कार्यालयलाई दिएको जानकारीमा एपस्टिनका चोटहरू घाँटी थिचेर हत्या गरिएको भन्दा झुन्डिएर आत्महत्या गरेको घटनासँग बढी मेल खाने बताएका थिए ।

उनका अनुसार घाँटी थिचेर हत्या गरिएका घटनामा देखिन सक्ने प्रतिकारका चोटहरू एपस्टिनको शरीरमा भेटिएका थिएनन् ।

शवको तस्बिर नलिइकन तल झारिएकोमा प्रश्न

फ्रिम्यानले हिरासतमा झुन्डिएर मृत्यु भएको घटनाको अनुसन्धान गर्दा शवलाई तल झार्नुअघि त्यसको तस्बिर खिचिएको हुनुपर्ने बताएका छन् ।

अमेरिकी न्याय मन्त्रालयको अनुसन्धान प्रतिवेदनअनुसार एपस्टिनलाई जेलमा भेट्ने सुरक्षाकर्मीले तत्काल अर्का सहकर्मीलाई सहयोगका लागि बोलाएका थिए । त्यसपछि एपस्टिनको शव तल झारेर उनलाई पुनः जीवित बनाउने प्रयास गरिएको थियो ।

न्याय मन्त्रालयको प्रतिवेदनअनुसार मृत्यु हुनुभन्दा करिब एक महिनाअघि एपस्टिनलाई आत्महत्या गर्नबाट रोक्न केही समय निगरानीमा समेत राखिएको थियो ।

फ्रिम्यानले एपस्टिनको हत्या कसले गरेको हुन सक्छ भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘यस विषयमा मेरो कुनै धारणा छैन । यो मेरो अनुसन्धानको हिस्सा पनि होइन ।’

आफ्नो निष्कर्ष षड्यन्त्रको सिद्धान्तजस्तो देखिएको प्रश्नमा उनले आफ्नो अनुसन्धानका तथ्यहरू सबैले आफैँ परीक्षण गर्न सक्ने बताएका छन् ।

उनले तथ्यमा आधारित आलोचना र छलफलका लागि आफू तयार रहेको पनि उल्लेख गरेका छन् ।

फ्रिम्यानले अमेरिकामा प्रहरी हिरासतमा भएका मृत्युका घटनामा महान्यायाधिवक्ताका लागि मृत्युको कारण पत्ता लगाउने विशेषज्ञका रूपमा काम गरिसकेका छन् ।

उनले मिनेसोटामा जर्ज फ्लोयडको मृत्यु प्रकरणमा पनि विशेषज्ञको भूमिका निर्वाह गरेका थिए ।

तर उनको पछिल्लो अनुसन्धानको अहिलेसम्म अन्य विशेषज्ञबाट समीक्षा भएको छैन । उनले एपस्टिनको परिवारबाट पनि अनुसन्धानका लागि कुनै पारिश्रमिक नलिएको बताएका छन् ।

सम्झौताका कारण कडा जेल सजायबाट बचेका थिए एपस्टिन

एपस्टिन सन् २००८ मा नाबालिगलाई यौन व्यापारमा लगाएको मुद्दामा दोषी ठहर भएका थिए । त्यसपछि उनको नाम यौन अपराधीहरूको सूचीमा राखिएको थियो ।

तर एउटा कानुनी सम्झौताका कारण उनले कडा जेल सजायबाट बच्ने अवसर पाएका थिए ।

त्यसको ११ वर्षपछि उनीमाथि नाबालिग किशोरीहरूको यौन शोषणका लागि सञ्जाल सञ्चालन गरेको आरोप लाग्यो ।

सन् २०१९ मा मुद्दाको सुनुवाइ पर्खिरहेका बेला उनी न्युयोर्कस्थित मेट्रोपोलिटन करेक्सनल सेन्टरको जेलमा मृत फेला परेका थिए ।

प्रतिक्रिया