info@nawayug.com

भ्रष्टाचार विवादमा परेपछि मङ्गोलियाका राष्ट्रपति पदत्यागको तयारीमा

काठमाडौँ । विपक्षी दलले भ्रष्टाचारको आरोप लगाउँदै महाभियोग लगाउने चेतावनी दिएपछि मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

विपक्षी डेमोक्रेटिक पार्टीले उनीमाथि भ्रष्टाचारको आरोप लगाउँदै पद त्याग्न वा संसद्मा महाभियोगको सामना गर्न आह्वान गरेको एक दिनपछि राष्ट्रपतिले मङ्गलबार राजीनामाको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा उनले आफूलाई झुटा आरोप लगाएर गम्भीर अपराधमा संलग्न भएको भन्दै बदनाम गरिएको बताए । आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्न राजीनामा दिन लागेको उनको भनाइ थियो ।

“राज्य प्रमुखले आफ्नो जिम्मेवारी त्यागेर सत्य स्थापित गर्नु न्यायको हितमा हुन्छ भन्ने मेरो विश्वास छ”, उनले भने।

उनले आफूले मङ्गोलियाको राष्ट्रपतिको जिम्मेवारीबाट औपचारिक रूपमा अलग हुने घोषणा गर्दै आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउनेहरूलाई सम्बन्धित निकायसमक्ष बुझाउने बताए।

डेमोक्रेटिक पार्टीले सोमबार देशमा गहिरो भ्रष्टाचार रहेको आरोप लगाउँदै राष्ट्रपति खुरेलसुखसहित वरिष्ठ सरकारी अधिकारीहरूलाई पदबाट राजीनामा दिन र अनुसन्धानको सामना गर्न आग्रह गरेको थियो।

तर, राष्ट्रपतिले आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन्। पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा जनता वा राज्यको सम्पत्ति कहिल्यै चोरी नगरेको बताए। “मैले कहिल्यै झुट बोलेको वा चोरी गरेको छैन । कसैलाई धोका पनि दिएको छैन”, उनले भने।

मङ्गोलिया पछिल्ला महिनादेखि राजनीतिक अस्थिरता र सत्तारूढ मङ्गोलियन पिपुल्स पार्टी (एमपीपी) भित्रको आन्तरिक विवादबाट गुज्रिरहेको छ । भ्रष्टाचारविरुद्ध हप्तौँसम्म प्रदर्शन भएपछि मार्चमा सांसदहरूले एक वर्षभन्दा कम अवधिमा तेस्रो प्रधानमन्त्री नियुक्त गरेका थिए।

राजधानी उलानबटोरमा हजारौँ युवाले धनी अभिजात वर्ग र आफूहरूले व्यापक अन्यायका रूपमा लिएको अवस्थाविरुद्ध प्रदर्शन गरेका थिए।

रासस

प्रतिक्रिया