काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्विया पठाइदिने प्रलोभन देखाएर ३० लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्दै आएका २४ वर्षीय रोशन खड्का रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मङ्सिर २ गते ललितपुर महानगरपालिका–२८, हरिसिद्धीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार खड्काले बेरोजगार युवायुवतीलाई आकर्षक तलबमा सर्वियामा रोजगारी दिलाइदिने भन्दै रकम लिएका थिए। पीडितबाट ३० लाख ३० हजार रुपैयाँ असुलेपछि उनले सर्विया नपठाई सम्पर्कविहीन भएको अनुसन्धानबाट खुलेको छ। ठगीमा परेको भन्दै पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले उनको खोजी गरेको थियो।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका खड्कालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com