info@nawayug.com

स्पेनलाई गोल गर्न नदिएर चर्चामा आए केब भर्डेका गोलकिपर जोसिमार

काठमाण्डौं । फिफा विश्वकप फुटबलमा नवप्रवेशी केब भर्डेका गोलकिपर जोसिमार डियास (भोजिन्हा) एकाएक चर्चामा आएका छन् । विश्वकपको डेब्यु खेलमै विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेपछि केब भर्डेका ४० वर्षीय अनुभवी गोलकिपर भोजिन्हा अन्तर्राष्ट्रिय रूपमा चर्चाको केन्द्र बनेका हुन् ।

गएराति अमेरिकाको एटलान्टा रङ्गशालामा भएको खेलमा भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेअर अफ द म्याच’ पनि बने । खेलमा स्पेनले झन्डै ७५ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखे पनि भोजिन्हाले गोल गर्न दिएनन् ।

स्पेनका खेलाडीले प्रहार गरेका २७ मध्ये ७ वटा गोलपोस्टभित्र थिए । तर भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै सन् २०१० को विजेता स्पेनलाई बराबरीमा रोके । यही प्रदर्शनका कारण यसअघि खासै नाम नसुनिएका भोजिन्हा अहिले चर्चामा आएका हुन् ।

केब भर्डेका गोलकिपर भोजिन्हालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा पछ्याउनेहरूको पनि ओइरो लागेको छ । स्पेनसँगको खेल शुरू हुनुअघि झन्डै ४३ हजार रहेको उनको इन्स्टाग्राम फलोअर्स सङ्ख्या १ घण्टामै २० लाखभन्दा धेरै पुगेको थियो । अहिले यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा ५८ लाख फलोअर्स पुगिसकेका छन् ।

प्रतिक्रिया