info@nawayug.com

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा ३२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

सोमबार भएको दुर्घटनामा २५ यात्रु र सात चालक दलका सदस्य गरी ३२ जना सवार रहेको उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोले जानकारी दिएका छन् ।

उनका अनुसार सैन्य विमान ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा समुदायस्थित नौसैनिक आधारनजिक दुर्घटनाग्रस्त भएको हो ।

नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकोप्टर भएको अनुमान गरिए पनि दुर्घटनामा परेको विमान दुई इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ । विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको थियो ।

राष्ट्रपति टिनुबुले दुर्घटनालाई सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद् घटना भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएका वायुसेनाका सदस्यहरूको बलिदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरेका छन् ।

दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेको भन्दै टिनुबुले नाइजेरियाली वायुसेनाको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया