वासिंटन । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज गरिदिएका छन् । न्यायाधीशले ट्रम्पको मुद्दालाई ‘आधारहीन तर्कको सहारा लिएर अघि बढाइएको’ भनेका छन् ।
ट्रम्पले गत वर्ष उक्त पत्रिकाको सञ्चालक कम्पनी डाउ जोन्स र त्यसका प्रमुख रुपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गरेका थिए ।
पत्रिकाले सन् २००३ मा कुख्यात वित्तीय कारोबारी तथा यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनको जन्मदिनका लागि तयार पारिएको पुस्तकमा ट्रम्पले लेखेको भनिएको एउटा पत्र सम्बन्धित समाचार प्रकाशित गरेको थियो । त्यतिबेला एपस्टिनमाथि यौन अपराधको आरोप लागिसकेको थिएन ।
ट्रम्पले भने आफूले उक्त पत्र नलेखेको र त्यसमा हस्ताक्षर पनि नगरेको दाबी गर्दै आएका छन् । उक्त पत्रमा आपत्तिजनक खालका शब्दहरू र महिलाको नग्न शरीरको रूपरेखा बनाइएको चित्र रहेको बताइएको थियो ।
न्यायाधीश ड्यारिन गेल्सले उक्त मुद्दा अमेरिकी संविधानको पहिलो संशोधनको मर्मविपरीत रहेको ठहर गर्दै खारेज गरेका हुन् । अमेरिकी संविधानको पहिलो संशोधनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्छ ।
यसअघि पनि न्यायाधीश गेल्सले ट्रम्पको मानहानिसम्बन्धी मुद्दा एकपटक खारेज गरिसकेका थिए । सुरुमा २० अर्ब डलर क्षतिपूर्ति माग गर्दै दायर गरिएको मुद्दा खारेज भएपछि ट्रम्पको टोलीले पुनः १० अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेको थियो ।
यसपटक भने न्यायाधीशले मुद्दा ‘पुनः दायर गर्न नपाउने गरी’ खारेज गरेका छन् । यसको अर्थ ट्रम्पले यही विषयमा फेरि त्यही मुद्दा अदालतमा दर्ता गर्न पाउने छैनन् ।
एपस्टिनको ५०औँ जन्मदिनका अवसरमा तयार पारिएको पुस्तक र त्यसमा ट्रम्पको नाममा रहेको पत्रबारे द वाल स्ट्रिट जर्नलले समाचार प्रकाशित गरेको थियो । उक्त समाचार सार्वजनिक हुँदा एपस्टिनसम्बन्धी कागजातहरू सार्वजनिक गर्ने विषयमा ट्रम्प प्रशासनले चर्को आलोचना खेपिरहेको थियो । यस विषयमा रिपब्लिकन र डेमोक्र्याट दुवै दलका नेताहरूले सरकारको आलोचना गरेका थिए ।
ट्रम्पले भने पत्रिकाले आफ्नो मानहानि गरेको र समाचार प्रकाशित गरेर कानुन उल्लङ्घन गरेको आरोप लगाएका थिए ।
न्यायाधीश गेल्सले आफ्नो २० पृष्ठ लामो फैसलामा पत्रिकाले समाचार तयार पार्नुअघि गरेको अनुसन्धानलाई ‘गम्भीर, विस्तृत र विचारपूर्ण’ भनेका छन् । उनले ट्रम्पको मुद्दामा पत्रिकाको गल्ती देखाउन कमजोर तर्कहरू अघि सारिएको टिप्पणी गरेका छन् ।
न्यायाधीशका अनुसार ट्रम्पको कानुनी टोलीले पत्रिकाले जानाजानी झुटो समाचार प्रकाशित गरेको वा समाचार सत्य हो कि होइन भन्ने कुराको बेवास्ता गर्दै लापरबाही गरेको प्रमाणित गर्न सकेन ।
न्यायाधीश गेल्सका अनुसार ट्रम्पको कानुनी टोलीले पत्रिकाले समाचार प्रकाशित गर्नुअघि ट्रम्पसँग प्रतिक्रिया माग्दा उनले पत्र लेखेको अस्वीकार गरेका थिए । त्यसैले पत्रिकाले उनको अस्वीकारलाई नै अन्तिम सत्य मानेर अनुसन्धान रोक्नुपर्ने तर्क ट्रम्पको टोलीको थियो ।
तर न्यायाधीशले यो तर्क अस्वीकार गरे । उन सार्वजनिक व्यक्तिले कुनै आरोप अस्वीकार गर्दैमा पत्रकारले त्यसबारे थप अनुसन्धान गरेर नकारात्मक वा फरक तथ्यसहितको समाचार प्रकाशित गर्न नपाउने भन्ने नहुने फैसलामा उल्लेख गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com