काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।
आजदेखि शुरू भएको पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने कार्यशालामा उहाँले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोहोर्याएर मात्र विधिसम्मत ढङ्गले विश्राम लिने उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गर्नुभयो । विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र नागरिकको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताउनुभयो ।
आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई सङ्घर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘सजिलो परिस्थिति आयो भने फुरुङ्ग परिहाल्ने, केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा निस्केर ‘दशैँ आयो’ भनेर नाच्न थाल्ने, अप्ठ्यारो परिस्थिति आयो भने अनेक प्रकारका वितण्डा मच्चाउने, अनेक निहुँ खोज्ने, आफूले राम्रो गरेको तर अरूले नराम्रो गरेको भन्दै नागरिकका बीचमा जाने, आफ्नो कमी नदेख्ने र अरूको कमी मात्र देख्ने प्रकारको हुनु हुँदैन । सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री बन्न पाइने भयो भने कस्सिएर अगाडि बढ्ने र प्रधानमन्त्री बन्ने, अनि अप्ठ्यारो अवस्था आयो भने झोला फालेर भागिहाल्ने होइन ।’
अध्यक्ष ओलीले राजनीतिक दल र नागरिकबीचको सम्बन्ध नङ्ग र मासुको जस्तो हुनुपर्ने पनि बताउनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com