info@nawayug.com

रास्वपा नेताहरूको आलोचनाप्रति रचना खतिवडाको असन्तुष्टि, जेनजी स्मृति कार्यक्रमको विषयमा विवाद

काठमाडौं । जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा तथा रास्वपा सांसद रचना खतिवडाले संसद् र सामाजिक सञ्जालमा आफू र सहिद परिवारमाथि भइरहेका टिप्पणीहरूप्रति गम्भीर भावनात्मक असन्तुष्टि व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू सांसदभन्दा पहिले सन्तान गुमाएकी आमा भएको बताएकी छन् ।

गत भदौ २३ गते जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले स्मृति कार्यक्रम आयोजना गरेका थिए ।

उक्त कार्यक्रमको ढाँचामाथि रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले प्रश्न उठाएकी थिइन् । त्यसपछि शहिद परिवार समाजका केही पदाधिकारीले क्रान्तिशिखालाई संसदबाट घिसारेर मानसिक अस्पताल पुर्याउने सार्वजनिक धम्की दिए । यस्तो धम्कीप्रति हिजो रास्वपा महामन्त्री विपन आचार्यले संसद वैठकमा बोल्दै भर्त्सना गरेका थिए ।

यसरी पार्टीका नेताहरु र शहिद परिवारबीच नै टकरावको स्थिति उत्पन्न भएको छ । त्यसो त रास्वपाभित्र नै यो विषयमा एक मत छैन । क्रान्तिशिखा र विपिन मुखर रुपमा प्रस्तुत भए पनि प्राय नेताहरु मौन छन् । यो विषयले गृहमन्त्री सुदन गुरुङ र क्रान्तिशिखाबीच समेत मनमुटाव ल्याएको छ । क्रान्तिशिखाले गुरुङको सार्वजनिकरुपमै आलोचना गर्न थालेकी छन् ।

यो परिस्थितलाई लिएर रास्वपाकी सांसद खतिवडाले गम्भीर चिन्ता व्यक्त गरेकी छन् । उनले जेनजी शहीद स्मृति कार्यक्रम सहिद परिवारहरूले आफ्ना सन्तानको सम्झनामा फेरि एकपटक आँखा रसाउने दिन मात्र भएको बताएकी छन् ।

उनी लेख्छिन्, ‘त्यो कुनै उत्सव थिएन, कुनै शक्ति प्रदर्शन थिएन । तर दुःख लाग्छ, केही मानिसहरूका लागि त्यो दिन पनि टिप्पणी गर्ने विषय बन्यो ।’

संसद्‌मा उभिएर बोल्दा वा फेसबुकमा केही शब्द लेखेर हेडलाइन पाउन सजिलो भए पनि सन्तान गुमाउने परिवारको दैनिक पीडा कसैले नबुझेको उनको गुनासो छ ।

राजनीतिमा आएपछि आफूले अनेक लाञ्छना सहनुपरेको उल्लेख गर्दै सांसद खतिवडाले लेखेकी छन्, ‘छोराको रगतबाट सांसद बनिस, छोराको नाम बेचेर राजनीति गरिस- यस्ता शब्दहरू पनि सुनेकी छु । हरेक शब्दले मुटु चिरेको छ । तर, जवाफ दिँदै हिँड्नुभन्दा जिम्मेवारी पूरा गर्नु ठूलो ठानेर चुप बसेँ ।’

बाहिरियाभन्दा पनि आफ्नै आन्दोलन, आफ्नै सहयात्री र आफ्नै मान्छेहरूबाट आउने त्यस्ता शब्दहरूले झन् धेरै दुख्ने गरेको उनले बताएकी छन् । आफूलाई चर्चा कमाउनु वा कसैसँग प्रतिस्पर्धा गर्नु नरहेको भन्दै उनले प्रश्न गरेकी छन्, ‘मैले कति पटक आफ्नो पीडा प्रमाणित गर्नुपर्ने हो ? कति पटक छोराको मृत्युको अर्थ बुझाउनुपर्ने हो ? कति पटक सहिदकी आमाले नै आफ्नो आँसुको हिसाब दिनुपर्ने हो ?’

कमजोरी भए सुझाव दिन सकिने तर सहिद परिवारको स्मृतिलाई सार्वजनिक आलोचनाको विषय नबनाउन आग्रह गर्दै उनले सम्मान गर्न नसके पनि अपमान नगर्न अनुरोध गरेकी छन् ।

प्रतिक्रिया