काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, राहत तथा उद्धारमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै विपद्का बेला राजनीतिक दलभन्दा माथि उठेर काम गर्न सरकारलाई आग्रह गरेका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद भट्टले यस्तो आग्रह गरेका हुन्।
भट्टले भोटेकोशी बाढीका बेपत्ताको खोजीलाई तीव्र बनाउन र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरे। विपद्को समयमा सरकार सबै राजनीतिक दल र नागरिकको साझा अभिभावक बन्नुपर्नेमा पक्ष-प्रतिपक्ष छुट्याउनेतर्फ केन्द्रित भएको आरोप उनले लगाए। २०७२ सालको भूकम्पको उदाहरण दिँदै उनले त्यतिबेला राजनीतिक दलभन्दा माथि उठेर सरकार, विदेशी कूटनीतिक नियोग तथा विशेषज्ञको सहयोग लिएर उद्धार तथा राहतका काम गरिएको स्मरण गराए।
वर्तमान सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै विपद्का बेला राजनीतिक स्वार्थ र दलीय विभाजनभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने उनले बताए। भोटेकोशीमा बेपत्ता भएका व्यक्ति आफ्नै परिवारका सदस्य भएको भए सरकारको प्रतिक्रिया कस्तो हुन्थ्यो भन्ने प्रश्न गर्दै सांसद भट्टले सरकारलाई पीडितको ठाउँमा आफूलाई राखेर सोच्न आग्रह गरे।
यस्तै भट्टले सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। विपद्जस्तो संवेदनशील विषयमा मन्त्री तथा सत्तापक्षका नेताहरूले असंवेदनशील अभिव्यक्ति दिन नहुने भन्दै उनले आफूहरू पनि आमाबाबु, दिदीबहिनी र परिवार भएका नागरिक रहेको स्मरण गराए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com