info@nawayug.com

बौद्ध सर्किट विकासका लागि लुम्बिनीमा त्रिपक्षीय सम्झौता

रुपन्देही । लुम्बिनी बौद्ध सर्किटको दिगो पर्यटन विकास तथा सीमापार सम्पर्कसम्बन्धी आधारभूत अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय, छाया नेपाल र इन्टिग्रेटेड सोसल डेभलपमेन्ट सेन्टरबीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा। माणिकरत्न शाक्य, छाया नेपालकी अध्यक्ष सृष्टि सिलवाल र आईएसडीसीेका अध्यक्ष सिद्धार्थ बज्र बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार तीनवटै संस्थाले परियोजनाको संयुक्त योजना, कार्यान्वयन, अनुगमन तथा अध्ययनबाट प्राप्त ज्ञान र अनुसन्धानका निष्कर्षको प्रसारमा सहकार्य गर्नेछन्।

अध्ययनमार्फत दिगो पर्यटन विकास र क्षेत्रीय सीमापार सम्पर्कलाई प्रभावकारी बनाउन आवश्यक तथ्य, नीति सुझाव तथा कार्यढाँचा तयार गरिनेछ।

परियोजनाअन्तर्गत अनुसन्धान विधि तथा कार्यान्वयन ढाँचा तयार गर्ने, स्थलगत अध्ययन गर्ने, सरोकारवालासँग परामर्श तथा तथ्यांक संकलन गर्ने, प्राप्त तथ्यांकको विश्लेषण गरी अनुसन्धान प्रतिवेदन तथा नीतिगत सुझाव तयार गर्ने कार्य गरिनेछ।

सरकारी निकाय, विकास साझेदार, शैक्षिक संस्था तथा स्थानीय सरोकारवालासँग समन्वय गर्दै कार्यशाला, छलफल तथा ज्ञान आदानप्रदानका कार्यक्रम पनि सञ्चालन गरिनेछ।

परियोजनाले लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटन, दिगो पर्यटन विकास तथा नेपाल-भारत सीमापार पर्यटन सम्पर्कलाई तथ्यमा आधारित ढंगले अध्ययन गरी भविष्यका नीति तथा योजनाका लागि उपयोगी आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया