राजविराज। नेपाल सद्भावना पार्टीका संस्थापक सदस्य महेन्द्रनारायण साहको ७५ वर्षको उमेरमा निधन भएको छ। विगत तीन वर्षदेखि विभिन्न रोगबाट पीडित साहको शुक्रबार बिहान राजविराज –८ स्थित आफ्नै निवासमा निधन भएको परिवारका सदस्यले बताउनुभएको छ ।
सप्तरीको महदेवा गाउँपालिका –४ लक्ष्मीनिया निवासी साह मधेश अधिकार, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा निरन्तर संघर्षरत हुनुहुन्थ्यो। परिवारका अनुसार साह लामो समयदेखि सुगर र उच्च रक्तचापबाट पीडित रहँदै आउनुभएको थियो। उहाँ तत्कालीन नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष स्वर्गीय गजेन्द्रनारायण सिंहका सहकर्मीसमेत रहनुभएको थियो।
पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका साहले २०४६ सालको जनआन्दोलनका क्रममा महिनौं जेल जीवन बिताउँदै लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएको थियो ।
उहाँको निधनप्रति राजनीतिक, सामाजिक तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन्। जनता समाजवादी पार्टीका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साह, पूर्वमन्त्रीहरु मृगेन्द्रकुमार सिंह यादव, उमेशकुमार यादव, तथा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता विकास तिवारी, गजेन्द्र मण्डल लगायतले साहको निधनले मधेश आन्दोलनले एक अनुभवी, निष्ठावान् र संघर्षशील व्यक्तित्व गुमाएको बताउनुभयो । उहाँको अन्त्येष्टि शनिबार बिहान गृहगाउँ लक्ष्मीनियामा गरिने जेठो छोरा विश्वनारायण साहले जानकारी दिनुभयो। उहाँका तीन छोरा, बुहारी तथा छ जना नातिनातिना छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com