info@nawayug.com

‘सरुवा–बढुवाको दबाब अन्त्य गर्न बाचाअनुसार बोर्ड गठन गरियोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले आफू राजनीतिमा आएपछि सबैभन्दा बढी दबाब सरुवा र बढुवाका विषयमा खेप्नुपरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नै नातागोता तथा साथीभाइसमेत सरुवा बढुवाका लागि आफूलाई भेट्न आउने गरेको बताए।

उनले भने, ‘म राजनीतिमा आएपछि मैले सबैभन्दा धेरै भोग्ने एउटा प्रेसर भनेको सरुवा र बढुवाको नै हो। अरुबेला सुशासन र पारदर्शिताका कुरा गर्ने मेरा आफ्नै नातागोता र साथीभाइहरू पनि मेरो घरमा नातावाद र कृपावाद खोज्दै सरुवा बढुवाका लागि आउनुहुन्छ।’

सरुवा बढुकाको कुरा लिएर आउनेहरूलाई आफूले विधि र पद्धति बाहेक अरू केही हुन्न भन्ने गरेको बताए।

उनले थपे, ‘मैले सबै जनालाई हाम्रो सरकारमा सरुवा बढुवामा विधि र पद्धति बाहेक अरू केही पनि हुँदैन, भनसुन चल्दैन भनेर भन्ने गरेको छु। अझ हाम्रो आफ्नै वाचा पत्रको बुँदा नम्बर ८ देखाएर स्वायत्त सरुवा बोर्ड गठन हुने विधि र पूर्वानुमानमा सरुवा बढुवा गर्छ भनेर भनेको छु।’

उनले पार्टीको बाचा पत्र अनुसार स्वायत्त सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरे। महामन्त्री आचार्यले थपे, ‘नत्र यो आउने दशैंमा आफ्नै इष्टमित्रले टिका र आशीर्वाद नदेलान् भन्ने पिर छ। अझ काम गरेन भनेर सराप पो दिने हुन् भन्ने डर छ। यो सरापबाट मलाई बचाइदिनु पर्‍यो सरकार।’

प्रतिक्रिया