काठमाडौं । चीनले वास्तविक माछाजस्तै देखिने रोबोटिक माछा बनाएको छ। पानीमुनि आफैं तैरिन सक्ने यो रोबोटलाई निगरानीलगायतका काममा प्रयोग गर्न सकिने बताइएको छ ।
‘फुलडेप्थ’ नाम दिइएको यो रोबोटिक माछा हेर्दा वास्तविक अरोवाना अर्थात् ‘ड्रागन फिस’ जस्तै देखिन्छ। कम्पनीले यसलाई पानीमुनि टाढाबाट सञ्चालन गर्न सकिने सवारीसाधनका रूपमा प्रस्तुत गरेको छ ।
रोबोटिक माछाको लम्बाइ ६९ सेन्टिमिटर, उचाइ २० सेन्टिमिटर र तौल ३.८ किलोग्राम रहेको बताइएको छ । यसको शरीर नरम र लचिलो छ ।
सिलिकनबाट बनाइएको शरीरमा इन्टिग्रेटेड मोल्डिङ र धातुको लेपन गरिएको छ, जसले वास्तविक अरोवाना माछाको जस्तै चम्किलो कत्ला देखाउँछ ।
कम्पनीले यसलाई सुनौलो र रातो रङमा सार्वजनिक गरेको छ । सञ्चारमाध्यमका रिपोर्टअनुसार यसको रङ आवश्यकता अनुसार परिवर्तन गर्नसमेत सकिन्छ । कम्पनीको दाबीअनुसार वास्तविक माछाबीच यो रोबोट तैरिँदा छुट्याउन कठिन हुन्छ ।
परम्परागत प्रोपेलरको सट्टा यसमा बायोनिक सफ्ट–बडी प्रोपल्सन प्रविधि प्रयोग गरिएको छ । यही प्रविधिका कारण रोबोट माछाजस्तै शरीर चलाउँदै पानीमा तैरिन सक्छ ।
यो रोबोट पानीमुनि अधिकतम १.९ किलोमिटर प्रतिघण्टाको गतिमा तैरिन सक्ने बताइएको छ ।
लिथियम ब्याट्रीबाट चल्ने यसले एकपटक चार्ज गरेपछि करिब १० देखि १२ घण्टासम्म काम गर्न सक्छ । यसमा वायरलेस इन्डक्टिभ चार्जिङ प्लेटफर्मसमेत रहेको बताइएको छ ।
रोबोटमा ‘फिस न्युरो–ड्राइभ मोडल’ नामको प्रणाली प्रयोग गरिएको छ । यसमा एआई एल्गोरिदमसँगै उच्च सटीकताको ‘एटिट्युड’ र सेन्सर नियन्त्रण प्रविधि प्रयोग गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com