काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण मकवानपुरमा निरन्तर वर्षा भइरहेकाले कान्ति लोकमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सम्भावित सवारी दुर्घटना तथा बाढीपहिरोबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनाअनुसार कात्तिक १३ र १४ गते दुई दिन कान्ति लोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।
प्रशासनका अनुसार कात्तिक १२ गतेदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण सडक तथा राजमार्गमा बाढीपहिरोको जोखिम बढ्न सक्ने भएकाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले जोखिमयुक्त समयमा यात्रा नगर्न तथा प्रशासनको निर्णयअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
१३ कार्तिक २०८३, शुक्रबार ०४:१५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com