हेटौँडा। हेटौँडास्थित नवोदय नमुना संयुक्त राष्ट्र सङ्घको आयोजनामा यही जेठ १५, १६ र १७ गते ‘नवोदय मुन–२०८३’ आयोजना हुने भएको छ । कार्यक्रमबारे जानकारी दिँदै आयोजकले यस वर्ष करिब २०० विद्यार्थीको सहभागिता रहने जनाएको छ ।
मोडेल युनाइटेड नेसन्स (MUN) अर्थात् नमुना संयुक्त राष्ट्र सङ्घ एक शैक्षिक गतिविधि हो, जसमा विद्यार्थीहरूले विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विश्वव्यापी सामाजिक, आर्थिक, सुरक्षा तथा मानवअधिकारसँग सम्बन्धित विषयमा छलफल गर्नेछन् । कार्यक्रमले वास्तविक संयुक्त राष्ट्र सङ्घको प्रक्रियालाई अनुकरण गर्दै सहभागीहरूलाई कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, नेतृत्व तथा नीति निर्माणबारे व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
कार्यक्रमअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय निकायका समितिहरू गठन गरिएका छन् । World Health Organization अन्तर्गत “विश्वव्यापी द्वन्द्वको अवस्थामा महामारी सामना गर्ने तयारी र स्वास्थ्य प्रणालीलाई सशक्त बनाउने” विषयमा छलफल हुनेछ । त्यसैगरी United Nations Security Council मा “राज्य–प्रायोजित साइबर सञ्चालनहरूको प्रतिकार”, UNESCO मा “विश्व शिक्षा प्रणालीमा कृत्रिम बुद्धिमत्ताको नैतिक समावेशीकरण”, UNICEF मा “बालबालिकाको अधिकार र समान पहुँच”, International Labour Organization मा “डिजिटल युगमा श्रमको नैतिक अभ्यास”, United Nations Environment Programme मा “पर्यावरणीय सुशासन र दिगोपन”, तथा United Nations Human Rights Council मा “युद्ध अपराध र मानवअधिकारसम्बन्धी जवाफदेहिता” विषयमा बहस गरिनेछ ।
त्यसैगरी प्रतिनिधि सभाअन्तर्गत “नेपालमा लोकतान्त्रिक अधिकारको सुरक्षाका लागि समुदायको नेतृत्वमा शान्ति र वातावरण संरक्षणको सुदृढीकरण” विषयमा छलफल हुने जनाइएको छ । आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा नेतृत्व क्षमता, समालोचनात्मक सोच, सहकार्य, वादविवाद कला तथा व्यक्तित्व विकास गर्नु रहेको छ ।
तीन दिने कार्यक्रमअन्तर्गत दोस्रो दिन साँझ ‘सोसल नाइट’ पनि आयोजना गरिनेछ । साँझ ५:३० बजेदेखि ८ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा नृत्य, डिनर तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश गरिने जनाइएको छ ।
कार्यक्रममा हेटौँडाका मकवानपुर बाल विद्या सदन, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय, जेम्स स्कुल, गौरीशिखर, जनप्रिय तथा कमाने एकेडेमीलगायत विद्यालयको सहभागिता रहनेछ । साथै चितवन, नवलपरासी, काठमाडौं, सर्लाही, कास्की र धरानबाट समेत विद्यार्थीहरू सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यक्रमका महासचिव वृष्टि जयसवालले मुन कार्यक्रमले विद्यार्थीहरूमा विश्व दृष्टिकोण विकास गर्दै अन्तर्राष्ट्रिय मुद्दाप्रति सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
१२ जेठ २०८३, मङ्गलबार ०६:१९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com